
सन नेपाल लाइफमा संस्थापकको सेयर हिस्सा घटाइने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्व घटाएर सर्वसाधारण सेयरधनीको हिस्सा बढाउने प्रस्ताव गरेको छ । कम्पनीले संस्थापकको स्वामित्व ७० प्रतिशतबाट घटाएर ५१ प्रतिशत र सर्वसाधारणको स्वामित्व ३० प्रतिशतबाट बढाएर ४९ प्रतिशत पुर्याउन लागेको हो ।
कम्पनीको सञ्चालक समितिको २०८३ कात्तिक १२ गते बसेको बैठकले सेयर स्वामित्व परिवर्तनसम्बन्धी प्रस्ताव आगामी वार्षिक साधारणसभामा लैजाने निर्णय गरेको हो । प्रस्तावअनुसार कम्पनीमा संस्थापक सेयरधनीको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण सेयरधनीको हिस्सा ४९ प्रतिशत कायम हुनेछ । यसका लागि नेपाल बीमा प्राधिकरणलगायत सम्बन्धित नियामक निकायबाट आवश्यक स्वीकृति लिनुपर्नेछ ।
कम्पनीले नेपाल बीमा प्राधिकरणको ‘बीमकको संस्थापक सेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७’ को दफा ५ अनुसार आवश्यक कानुनी प्रक्रिया पूरा गरी स्वामित्व परिवर्तन गर्ने जनाएको छ । प्रस्तावित व्यवस्था लागू गर्न नियामक निकायको स्वीकृति पश्चात् आगामी वार्षिक साधारणसभामा पारितका लागि लैजाने भएको छ ।



