
नेपालको व्यापार घाटा ५ खर्ब ३२ अर्ब, ६ खर्बको आयात हुँदा १ खर्बको मात्रै निर्यात
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा नेपालको व्यापार घाटा ३५ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको तीन महिनामा निर्यात ५७ प्रतिशतले बढ्दा समेत व्यापार घाटा भने ३५ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्ष (आव) २०८३/८४ को पहिलो तीन महिनामा नेपालको व्यापार घाटा ५ खर्ब ३२ अर्ब ४९ करोड लाख पुगेको छ । जुन गत आव २०८२/८३ को तुलनामा ३५ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा व्यापार घाटा ३ खर्ब ९५ अर्ब ३० करोड रहेको थियो । समिक्षा अवधिमा आयात निर्यात दुवै बढेको छ । चालु आवको पहिलो त्रैमासिकसम्ममा ६ खर्ब ४६ अर्ब ७८ करोड २५ लाख रुपैयाँको सामान आयात भएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३८ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा आयात ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख रहेको थियो । नेपालले भारत लगायत तेस्रो मुलुकबाट पेट्रोलियम पदार्थ, फलाम तथा स्टिल र तिनका उत्पादनहरु, मेसिनरी तथा पाट्र्स, यातायातका साधन र तिनका पार्टस्, भटमास, दूरसञ्चारका सामग्री, इलेक्ट्रिक र इलेक्ट्रोनिक सामग्री, पामलगायतका सामग्री आयात गर्छ ।
चालु आवको पहिलो त्रैमासिकसम्ममा निर्यात १ खर्ब १४५ अर्ब २८ करोड ८४ लाख रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५७ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा निर्यात ७२ अर्ब ७८ करोड २८ लाख रहेको थियो । नेपालले भारत लगायत तेस्रो मुलुकसँग विशेषगरी भटमासको तेल, सूर्यमूखी तेल, गलैंचा अलैंची लगायतका सामग्रीहरुको उच्च निर्यात गर्छ । साथै नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा भटमासको तेल, पामतेल, पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, जुट तथा जुटका सामानहरु, तयारी पोशाक, जुस, सूर्यमुखी तेल, अलैंची, ऊनी फेल्टका उत्पादन, कपडा, चिया, पश्मिना शल, कुकुर र विरालोको आहार (डग च्यू), फलाम तथा फलामका उत्पादनहरु, चाउचाउ, नेपाली हाते कागज, रोजिन र रेजिन एसिड, जडीबुटी प्रमुख रुपमा रहेका छन् ।
समिक्षा अवधिमा कुल वैदेशिक व्यापार बढेको छ । चालु आवको पहिलो त्रैमासमा कुल वैदेशिक व्यापार ७ खर्ब ६१ अर्ब ७ करोड ९ लाख पुगेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ४१ प्रतिशतले बढी हो । गत आवको पहिलो त्रैमासमा कुल वैदेशिक व्यापार ५ दखर्ब ४० अर्ब ८६ करोड ६१ लाख रहेको थियो । समिक्षा अवधिमा वैदेशिक व्यापारमा निर्यातको हिस्सा १५ प्रतिशत हुँदा आयतको हिस्सा ८५ प्रतिशत रहेको छ ।


