
६२ कम्पनीले गरे लाभांश घोषणा, कनकाे कति ?
काठमाडौं । अहिलेको समय लाभांश घोषणा र वितरण गर्ने हो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका विभिन्न क्षेत्रका ६२ वटा कम्पनीहरुले लाभांश घोषणा गरेका गरेका छन् ।
कम्पनीहरुले गत आर्थिक वर्षको वितरणयोग्य नाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । सूचीकृत कम्पनीहरूमध्ये वाणिज्य बैंक, विकास बैंक, वित्तीय संस्था, जलविद्युत्, उत्पादनमूलक तथा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) हरूले प्रतिफल घोषणा गरिसकेका छन्।
लाभांश घोषणा गर्ने वाणिज्य बैंकहरुमध्ये सिद्धार्थ बैंक र नबिल बैंकले उच्च प्रतिफल घोषणा गरेका छन् । सिद्धार्थ बैंकले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । यस्तै, नबिल बैंकले ५ प्रतिशत बोनस र १०.८ प्रतिशत नगदसहित कुल १५.८ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै एभरेस्ट बैंकले १५ प्रतिशत (५ प्रतिशत बोनस र १० प्रतिशत नगद) तथा ग्लोबल आइएमई बैंकले १० प्रतिशत (६ प्रतिशत बोनस र ४ प्रतिशत नगद) लाभांश घोषणा गरेका छन् । सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने भएको छ भने एनएमबि बैंकले ७ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । माछापुच्छ्रे बैंकले ६ प्रतिशत (३ प्रतिशत बोनस र ३ प्रतिशत नगद), सिटिजन्स बैंकले ४ प्रतिशत र कुमारी बैंकले २.१०५ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् ।
त्यस्तै विकास बैंकहरूतर्फ गरिमा विकास बैंक र कामना सेवा विकास बैंकले आकर्षक लाभांश घोषणा गरेका छन् । गरिमा विकास बैंकले १० प्रतिशत बोनस र १० प्रतिशत नगदसहित कुल २० प्रतिशत लाभांश दिने भएको छ भने कामना सेवा विकास बैंकले १५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १६ प्रतिशत (१० प्रतिशत बोनस र ६ प्रतिशत नगद), साङ्ग्रिला डेभलपमेन्ट बैंकले १०.५२६ प्रतिशत र मितेरी डेभलपमेन्ट बैंकले ११ प्रतिशत लाभांश घोषणा गरेका छन् ।
वित्त (फाइनान्स) क्षेत्रतर्फ मञ्जुश्री फाइनान्सले ५ प्रतिशत बोनस र १५ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै आइसिएफसी फाइनान्सले १०.५२ प्रतिशत नगद लाभांश दिने भएको छ ।
जलविद्युत्मा माउन्टेन इनर्जी र कुथेली बुखरीको उच्च लाभांश
जलविद्युत् समूहका कम्पनीहरूमा माउन्टेन इनर्जी नेपालले २० प्रतिशत बोनस र १.०५३ प्रतिशत नगदसहित कुल २१.०५३ प्रतिशत लाभांश घोषणा गरी अग्रस्थान ओगटेको छ । यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरले १८ प्रतिशत बोनस र ०.९४७ प्रतिशत नगद गरी कुल १८.९४७ प्रतिशत लाभांश घोषणा गरेको छ । अन्य जलविद्युत् कम्पनीहरूमा सुपर मादी हाइड्रोपावर र मिड सोलु हाइड्रोपावरले समान १५.७८९ प्रतिशत, कालिञ्चोक दर्शनले ८.९४ प्रतिशत, सिकलेस हाइड्रोपावरले १३.३७५ प्रतिशत, र सानिमा मिडल तमोर हाइड्रोपावरले ५.२६३ प्रतिशत लाभांश घोषणा गरेका छन्।
उत्पादनमूलक समूहअन्तर्गत रिलायन्स स्पिनिङ मिल्सले ३० प्रतिशत नगद लाभांश घोषणा गर्दै उच्च प्रतिफल दिएको छ । नेपाल ल्युब आयलले १५ प्रतिशत बोनस र ६.०५२ प्रतिशत नगदसहित २१.०५२ प्रतिशत तथा सर्वोत्तम सिमेन्टले १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेका छन्। लघुवित्त क्षेत्रमा फस्र्ट माइक्रोफाइनान्सले ११.०५३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ भने गुराँस लघुवित्त र ग्लोबल आइएमई लघुवित्तले क्रमशः १० प्रतिशत र ९.५ प्रतिशत लाभांश घोषणा गरेका छन् । लगानी क्षेत्रको नेपाल पूर्वाधार बैंक (निफ्रा) ले ५.२६ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।
सामूहिक लगानी कोषहरूमा राष्ट्रिय बाणिज्य बैंक म्युचुअल फन्ड १ ले २० प्रतिशत नगद प्रतिफल घोषणा गरेको छ । त्यस्तै हिमालयन ८०–२० ले १५ प्रतिशत, नबिल ब्यालेन्स्ड फन्ड २ र ३ ले समान १३–१३ प्रतिशत, प्रभु स्मार्ट फन्ड र प्रभु सेलेक्ट फन्डले समान १२–१२ प्रतिशत तथा ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड १ ले १२ प्रतिशत प्रतिफल घोषणा गरेका छन् ।




