
किसानलाई धान थन्क्याउन चटारो
भोजपुर । पहाडी भूगोलका मिलेका गराहरू लहलहाएका सुनौला धानका बालाहरूले पहेँलपुर बनेका छन् । धान थन्क्याउने मुख्य समयमै दशैँ भित्रिएकाले अहिले किसानहरू परिवार र आफन्तजनसँग चाडपर्वको खुशियाली साट्नमा व्यस्त देखिन्छन् । दशैँको टीका–जमरा र खानपिन सकिने बित्तिकै धान थन्काउने चटारो शुरु हुने भोजपुर नगरपालिका–६ की किसान संगीता खड्का बताउँछिन् ।
कात्तिक महीनाको शुरुआतसँगै पहाडी भेगको मुख्य खाद्यान्न बालीका रूपमा रहेको धान पाकेर पहेँलो भएपछि यहाँको वातावरण नै रमणीय बनेको छ । यस वर्ष अनुकूल मौसम, समयमै भएको मनसुन र पर्याप्त सिँचाइका कारण धान उत्पादन विगतको तुलनामा राम्रो हुने आशा रहेको किसानको भनाइ छ ।
भोजपुर नगरपालिका–५ का स्थानीय किसान भीमसेन फुयालले पहेँलै बनेको धानले गाउँघर तथा डाँडाको पाखाको सौन्दर्य बढाएको बताउनुभयो ।
चाडबाड सकिएलगत्तै खेतमा पुगेर धान काट्ने, मुठा बाँध्ने, दाइँ हाल्ने र धान भण्डारण गर्ने चटारो शुरु हुने किसान फुयालले बताए । चाडपर्वपछि गाउँमा परम्परागत रुपमा चल्दै आएको ‘अर्मपर्म’ गरेर धान भण्डारको काम सुर हुने उनको भनाइ छ ।
मेशिनरी औजारको पहुँच सहज नभएका भिराला खेतहरूमा परिवारका सदस्यहरूसँगै छिमेकीहरू मिलेर धान काट्ने र भित्र्याउने चलन रहेको किसान फुयाल बताउँछन् । वर्षभरिको मुख्य खाद्यान्न बाली राम्रोसँग घर भित्र्याएपछि ढुक्क हुने उनले बताए ।


