
साउदीको अराम्कोमा भएको ड्रोन आक्रमणमा एक नेपालीसहित दुई जनाको ज्यान गयो
काठमाडौं । साउदी अरबको दक्षिणपूर्वी क्षेत्रमा रहेको तेल क्षेत्रमा हुथी विद्रोहीको ड्रोन अवरोध गरी खसालिएपछि त्यसको अवशेष लागेर दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।साउदी अरबको ऊर्जा मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार सरकारी तेल कम्पनी साउदी अराम्कोको सञ्चालनमा रहेको शैबह तेल क्षेत्रमा उक्त घटना भएको हो ।
मन्त्रालयका अनुसार मृत्यु हुनेमा नेपाली र फिलिपिन्सका नागरिक रहेका छन् । घाइते हुनेमा पाकिस्तानी र भारतीय नागरिक छन् । ड्रोनको अवशेष खस्दा तेल क्षेत्रमा काम गर्ने ठेकेदार कम्पनीको एउटा सवारीसाधनमा आगलागीसमेत भएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ । इरानसमर्थित हुथी विद्रोहीले पछिल्लो समय साउदी अरबका विमानस्थल र तेलसम्बन्धी पूर्वाधारलाई लक्षित गरी पटक–पटक आक्रमण गर्दै आएका छन् ।


