
कात्तिक ४ सम्म बजेटको १८.६५ प्रतिशत खर्च
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को कात्तिक ४ गते सम्ममा सरकारको कुल प्राप्तिको तुलनामा बजेट खर्च सामान्य रूपमा बढी देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार सरकारले यस अवधिमा कुल १६ खर्ब ४२ अर्ब ६ करोड ३७ लाख रुपैयाँ प्राप्ति गर्ने लक्ष्य राखेकोमा ३ खर्ब १ अर्ब २८ करोड १६ लाख रुपैयाँ संकलन गरेको छ। कुल १५ खर्ब ८० अर्ब ३१ करोड ८३ लाख रुपैयाँ राजस्वको लक्ष्यमध्ये कर राजस्वतर्फ २ खर्ब ७९ अर्ब ३९ करोड ५० लाख रुपैयाँ र गैरकर राजस्वतर्फ १९ अर्ब ३४ करोड ३२ लाख रुपैयाँ गरी कुल २ खर्ब ९८ अर्ब ७३ करोड ८२ लाख रुपैयाँ राजस्व संकलन भएको छ। ६१ अर्ब ७४ करोड ५४ लाख रुपैयाँ वैदेशिक अनुदानको लक्ष्य राखिएको भए पनि यस अवधिमा वैदेशिक अनुदान भने शून्य रहेको छ भने अन्य स्रोतबाट २ अर्ब ५४ करोड ३४ लाख रुपैयाँ संकलन भएको छ।
खर्चतर्फ सरकारले कुल २१ खर्ब २४ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ विनियोजन गरेकोमा कात्तिक ४ गतेसम्म ३ खर्ब ९६ अर्ब २६ करोड ६८ लाख रुपैयाँ खर्च गरेको छ। जसमध्ये १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपैयाँ चालु बजेटबाट २ खर्ब ९१ अर्ब ६५ करोड ६६ लाख रुपैयाँ खर्च भएको छ। विकास निर्माणतर्फको पुँजीगत खर्च भने निकै सुस्त देखिएको छ, ४ खर्ब ३१ अर्ब ११ करोड ६३ लाख रुपैयाँ विनियोजन गरिएकोमा यस अवधिमा २८ अर्ब ४२ करोड २३ लाख रुपैयाँ मात्र खर्च भएको छ, जुन कुल लक्ष्यको ६.५९ प्रतिशत मात्र हो। यस्तै वित्तीय व्यवस्थापनतर्फ विनियोजित ४ खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपैयाँमध्ये ७६ अर्ब १८ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ। समग्रमा, साधारण खर्च र वित्तीय व्यवस्थापनको तुलनामा विकास निर्माणतर्फको पुँजीगत खर्च निकै पछाडि परेको देखिन्छ।


