
बाढी प्रभावितको उद्धार र राहतमा जुट्न प्रचण्डको आग्रह
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखाको बूढीगण्डकी नदीमा अकस्मात् आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र सुरक्षामा जुट्न सबैलाई आग्रह गरेका छन्।
आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बाढी प्रभावितको उद्धार तथा राहतमा सक्रिय हुन सम्बन्धित निकाय, राजनीतिक दल, सामाजिक संस्था र स्थानीय नागरिकलाई आग्रह गरेका हुन्।
बाढीले गोरखाको चुमनुब्री, धार्चे र आरुघाटलगायतका क्षेत्रमा पुर्याएको क्षति तथा पुल र घरहरू बगाएको खबरले आफू मर्माहत भएको प्रचण्डले बताएका छन्।
उनले बूढीगण्डकीदेखि त्रिशूली नदी किनारसम्मका नागरिकलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहनसमेत अनुरोध गरेका छन्। बाढीबाट हुन सक्ने थप क्षति न्यूनीकरण गर्न तथा जोखिममा रहेका नागरिकको सुरक्षालाई प्राथमिकता दिन उनले आग्रह गरेका छन्।


