
बूढीगण्डकी बाढीमा पाँच जना बेपत्ता, ४३७ सुरक्षाकर्मी परिचालन
काठमाडौं । गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित लोक्पा र चुम्लिङबीच ठूलो पहिरो खसेपछि बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीमा परी पाँच जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा दुई महिला र तीन पुरुष रहेका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चुमनुब्री गाउँपालिका–६ चुम्चेतको उङ्गिलुङका उनीहरू भेडीगोठमा रहेका बेला बेपत्ता भएका हुन्।
बाढीले गोरखाका विभिन्न स्थानमा घर, झोलुङ्गे पुल, पक्की पुल, विद्युत्का खम्बा र टेलिफोन टावरमा क्षति पुर्याएको छ। धार्चे गाउँपालिका–३ सल्लेरीस्थित निर्माणाधीन टाइम्स ऊर्जा प्रालिको संरचना र आसपासका सातदेखि आठवटा घरसमेत बगाएको प्राधिकरणले जनाएको छ।
चुमनुब्री गाउँपालिका–३ न्याकचेतमा न्याकचेतबाट सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल बगाएको छ। सोही स्थानमा एउटा घर बगाएको र अर्को घरमा बाढी पसेको छ। त्यस्तै, धार्चे गाउँपालिका–५ माछीखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल पनि बाढीले बगाएको छ।
आरुघाट गाउँपालिका–९ नयाँपुलस्थित गोरखाबाट धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको एक भाग बगाएको छ। आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पक्की पुलसमेत बाढीले बगाएको प्राधिकरणले जनाएको छ।
माछीखोलाको तल्लो बस्तीमा बाढी पसेपछि त्यहाँका २० देखि २२ घर जोखिममा परेका छन्। बाढीले ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र र केही निर्माण उपकरणसमेत बगाएको छ। यसैगरी, दुईवटा टेलिफोन टावर र ५० वटा विद्युत्का खम्बामा क्षति पुगेको छ।
बाढीको सूचना प्राप्त हुनासाथ सुरक्षाकर्मी परिचालन गरी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको प्राधिकरणले जनाएको छ। खोज तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय आरुघाटबाट २५ जना प्रहरी खटिएका छन्। सल्लेरीस्थित टाइम्स ऊर्जा प्रालिका १२ जना कर्मचारीलाई पनि सुरक्षित स्थानमा सारिएको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी ४३७ जना सुरक्षाकर्मी परिचालन गरिएको छ। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले नेपाली सेनाका चारवटा हेलिकप्टर खोज तथा उद्धार कार्यमा परिचालन गरिएको जानकारी दिएका छन्।
बाढीको सूचना प्राप्त भएपछि गोरखा, धादिङ र चितवनको बेनीघाटसम्मका बासिन्दालाई एसएमएसमार्फत पूर्वसूचना पठाइएको थियो। साथै, गोरखा, धादिङ, तनहुँ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका २२१ जना प्रतिकार्यकर्तालाई परिचालनका लागि सूचना पठाइएको प्राधिकरणले जनाएको छ। बाढीबाट भएको क्षतिको विवरण सङ्कलन, बेपत्ताको खोजी तथा जोखिममा रहेका नागरिकको उद्धार कार्य जारी रहेको छ।


