
व्यवसायी दीपक भट्टको बाँच्न पाउने अधिकार रक्षाको माग गर्दै बाबुद्धारा आयोगमा निवेदन
काठमाडौं । थुनामा रहेका दीपक भट्टका पिता चतुर्भुज भट्टले आफ्नो छोराको मानव अधिकार, संविधान प्रदत्त मौलिक हक तथा सम्मानपूर्वक बाँच्न पाउने अधिकारको संरक्षणको माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।
प्रेस विज्ञप्तिअनुसार चतुर्भुज भट्टले पुल्चोकस्थित आयोगमा निवेदन दर्ता गराउँदै सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रकाशित सामग्रीले विचाराधीन मुद्दामा रहेका आफ्नो छोरालाई दोषीका रूपमा चित्रण गरिएको, चरित्रहत्या गरिएको तथा निष्पक्ष न्याय पाउने अधिकार प्रभावित भएको दाबी गरेका छन् ।
विज्ञप्तिमा विशेषगरी पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासँग सम्पर्क गरी विचाराधीन मुद्दामा चलखेल गर्न अनुरोध गरेको भन्ने विषयमा प्रकाशित समाचारप्रति गम्भीर आपत्ति जनाइएको छ । थुनामा रहेका व्यक्तिले गर्नै नसक्ने कार्यलाई सत्यजस्तै प्रस्तुत गरिएको भन्दै त्यस्ता सामग्रीले सामाजिक प्रतिष्ठामात्र होइन, न्यायिक प्रक्रियामा समेत प्रतिकूल प्रभाव पार्ने दाबी गरिएको छ ।
चतुर्भुज भट्टले आफ्नो छोरा दीपक भट्टलाई गत असोज १७ गते नख्खु कारागारबाट सिन्धुपाल्चोक कारागारमा सरुवा गरिएको उल्लेख गर्दै त्यसको आधार, कारण र निर्णय प्रक्रियाबारे कुनै जानकारी नदिइएको बताएका छन् । काठमाडौं जिल्ला अदालत, विशेष अदालत र उच्च अदालत पाटनमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मुद्दासँग सम्बन्ध नरहेको जिल्लाको कारागारमा सरुवा गरिएको भन्दै त्यसको औचित्यमाथि प्रश्न उठाइएको छ ।
सरुवाको कारणबारे जानकारी माग्दै नख्खु कारागार र कारागार व्यवस्था विभागमा पनि निवेदन दर्ता गरिएको भए पनि हालसम्म कुनै जवाफ नपाएको विज्ञप्तिमा उल्लेख छ ।
त्यसैगरी, कारागारबाट फोन गरेको लगायतका विषयमा आफूले गलत ठानेका समाचार प्रकाशन गर्ने सञ्चारमाध्यम तथा प्रेस काउन्सिल नेपालमा पनि पत्रकार आचारसंहिता र कानुनी व्यवस्थाअनुसार आवश्यक कारबाहीको माग गर्दै निवेदन दिइएको जनाइएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगसमक्ष दर्ता गरिएको निवेदनमार्फत सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको सत्यतथ्य छानबिन गर्न, कारागार सरुवासम्बन्धी निर्णय, आधार र कागजातको अध्ययन गर्न, आवश्यक परे स्थलगत अनुगमन गर्न तथा दीपक भट्टको मानव अधिकार र मौलिक हकको संरक्षणका लागि आवश्यक पहल गर्न अनुरोध गरिएको छ । साथै, सरुवाको औचित्य पुनरावलोकन गरी उनलाई पुनः नख्खु कारागारमै फर्काउने विषयमा सम्बन्धित निकायलाई निर्देशन दिन पनि माग गरिएको छ ।
प्रेस विज्ञप्तिमा आफू कुनै पनि अनुसन्धान वा न्यायिक प्रक्रियामा अवरोध गर्न नचाहेको स्पष्ट पार्दै सत्यतथ्यको निष्पक्ष छानबिन, कानुनी प्रक्रियाको सम्मान, भ्रामक समाचारबाट हुने चरित्रहत्या रोक्न तथा आफ्नो छोराको मानव अधिकारको संरक्षणका लागि मात्र सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको उल्लेख गरिएको छ ।


