
व्यापार तनाव घटाउन इयु–चीन वार्ता
काठमाडौं । बढ्दो व्यापार असन्तुलन र औद्योगिक प्रतिस्पर्धाबिच (युरोपेली सङ्घ) इयु र चीन व्यापार तनाव कम गर्न वार्तामा जुट्ने भएका छन्। इयुका व्यापार प्रमुख मारोस सेफकोभिक बिहीबार दुईदिने वार्ताका लागि बेइजिङ जाने कार्यक्रम छ।
सन् २०२५ मा चीनसँग इयुको व्यापार घाटा करिब तीन खर्ब ६० अर्ब युरो पुगेको थियो। चीनबाट विद्युतीय तथा हाइब्रिड कार, मेसिनरी, कपडा, धातु र रसायनलगायत वस्तुको आयात बढिरहेकाले इयुले युरोपेली उद्योगको संरक्षणका उपाय अघि बढाइरहेको छ।
यसैबिच इयुले चीनमाथिको निर्भरता घटाउन आपूर्तिकर्ता विविधीकरण तथा आफ्ना उद्योगको संरक्षणका लागि नयाँ व्यापारिक उपाय तयार गरिरहेको छ। बेइजिङले भने इयुका ‘भेदभावपूर्ण प्रतिबन्धात्मक उपाय’ विरुद्ध कडा प्रतिक्रिया दिने चेतावनी दिएको छ।
विज्ञहरूले यस साताको वार्ताबाट समग्र व्यापार सम्बन्धमा ठुलो उपलब्धिभन्दा विशिष्ट विषयमा सहमति हुन सक्ने बताएका छन्। जर्मन मार्शल फन्डकी पेनी नासले इयुसँग चीनबाट आएको चुनौती सामना गर्न थप आक्रामक कदम चाल्ने क्षमता भए पनि त्यसका लागि राजनीतिक इच्छाशक्ति कति छ भन्ने प्रश्न बाँकी रहेको बताए।


