
भारतसँग आर्थिक सहकार्य विस्तारको ठुलो सम्भावना : पुटिन
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले भारतसँग आर्थिक सहकार्य विस्तारको ठुलो सम्भावना रहेको बताएका छन् । उनले प्रमुख अन्तर्राष्ट्रिय पारवहन तथा ढुवानी मार्गको विकासमा नयाँदिल्लीसँग साझेदारी गर्न रुस इच्छुक रहेको बताएका हुन् ।
विश्वव्यापी यातायात मार्गको विकाससम्बन्धी कार्यक्रममा बिहीबार पुटिनले भारतसँगको सहकार्य सप्लाइ व्यवस्थापनमा मात्र सीमित नरहेको बताए । चीन र दक्षिण कोरियाका व्यावसायिक जहाजसँग सहकार्य अघि बढाइसकेको जानकारी दिँदै उनले यस्ता अन्तर्राष्ट्रिय करिडोर संयुक्त रूपमा प्रयोग गर्न भारतसँग पनि छलफल भइरहेको बताए ।
यसैबीच पुटिनले युक्रेन द्वन्द्व अन्त्यका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरिरहेको प्रयासको प्रशंसा गरेका छन् । मोदीले पारस्परिक रूपमा स्वीकार्य र शान्तिपूर्ण समाधान खोज्न निरन्तर जोड दिइरहेको उल्लेख गर्दै उनले द्वन्द्व सकेसम्म चाँडो अन्त्य गर्ने भारतीय प्रधानमन्त्रीको इच्छाका लागि आफूहरू आभारी रहेको बताए ।
यसअघि अगस्टको सुरुमा रुसी उपप्रधानमन्त्री मारात खुसनुलिनले बोस्फोरस र हर्मुज जलघाँटीसँग सम्बन्धित पारवहन जोखिम कम गर्न हिन्द महासागरमा प्रत्यक्ष रेलमार्ग निर्माणको सम्भाव्यता अध्ययन गर्नुपर्ने बताएका थिए । उनले तुर्कमेनिस्तान, इरान, अफगानिस्तान र पाकिस्तान हुँदै भारतसम्म पुग्ने वैकल्पिक मार्गको प्रस्ताव गरेका थिए ।
अमेरिका, इजरायल र इरानबीचको सशस्त्र वैमनस्यपछि हर्मुज जलघाँटीमा बढेको समुद्री अवरोधका कारण वैकल्पिक व्यापार मार्गको चर्चा बढेको हो । उक्त जलघाँटीबाट विश्वव्यापी तेल व्यापारको करिब २५ प्रतिशत तथा एलएनजी ढुवानीको करिब २० प्रतिशत हिस्सा हुने भएकाले यसको पारवहन व्यवस्था अन्तर्राष्ट्रिय व्यापारका लागि महत्त्वपूर्ण मानिन्छ ।


