
इराकबाट अमेरिकी सेना फिर्ता
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकमा इस्लामिक स्टेट (आइएसआइएस) विरुद्धको सैन्य अभियान पूरा भएको दाबी गर्दै त्यहाँबाट अमेरिकी सेना फिर्ता भएको घोषणा गरेका छन्। उनले अमेरिकी सेना फिर्तीलाई संयुक्त राज्य अमेरिका र इराक दुवैको विजयका रूपमा चित्रण गरेका छन्।
ट्रम्पले बिहीबार आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत इराकबाट अमेरिकी सेना फिर्ता भएको घोषणा गरेका हुन्। उनका अनुसार आइएसआइएसलाई परास्त गर्ने अमेरिकी सेनाको मिसन पूरा भएपछि ‘अपरेसन इनहेरन्ट रिजोल्व’ अन्त्य गरिएको हो।
ट्रम्पले इराकमा अमेरिकी सेना राखिरहने वा स्वदेश फर्काउनेमध्ये एउटा विकल्प रोज्नुपर्ने अवस्था आएको उल्लेख गर्दै अब अमेरिकी सेना घर फर्कने समय भएको निष्कर्षमा पुगेको बताए। उनले इराकमा नयाँ प्रधानमन्त्रीको नेतृत्वमा नयाँ अवस्था सिर्जना भएको उल्लेख गर्दै आफूले सुरुदेखि नै उहाँलाई समर्थन गरेको र अहिले पनि पूर्ण समर्थन रहेको बताए।
यसअघि अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले इराकमा ‘अपरेसन इनहेरन्ट रिजोल्व’ अन्तर्गतको मिसन अन्त्य भएको घोषणा गरेको थियो। सेन्टकमका अनुसार इराकको इरबिल एयर बेसबाट अमेरिकी सेना तथा सैन्य उपकरण फिर्ता गर्ने काम व्यवस्थित रूपमा सम्पन्न भएको छ।
ट्रम्पले अमेरिकी सेना फिर्तीलाई आइएसआइएसमाथिको निर्णायक विजयसँग जोड्दै संयुक्त राज्य अमेरिका र इराक दुवैका लागि उपलब्धिका रूपमा व्याख्या गरेका छन्।


