
आजको मौसम : यी स्थानमा अति भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बंगालको खाडीको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपासको रहेको छ ।
यो प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै तीव्रता कायम राख्दै उत्तर–पश्चिमतर्फ सर्ने सम्भावना रहेको छ भने त्यसपछि आगामी २४ घण्टामा उत्तर–उत्तरपश्चिमतर्फ सर्दै क्रमशः कमजोर हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । आज कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भू–भागका अधिकांश तथा सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
कोसी, वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भाग, कर्णाली प्रदेशका पहाडी भू–भागका अधिकांश स्थानका साथै मधेस प्रदेशका केही तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुनेछ ।
कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ । लुम्बिनी र गण्डकी प्रदेशको एक/दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ । मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । मधेस तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको तराई भू–भागका केही स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाको पूर्वानुमन छ ।


