
६ महिने सुत्केरी बिदा आरामका लागि होइन, आमा र बच्चाको स्वास्थ्यका लागि हो : सांसद थपलिया
काठमाडौं । सीता (उर्मिला) थपलियाले महिलालाई दिइने ६ महिनाको सुत्केरी बिदालाई आराम गर्ने समयका रूपमा बुझ्न नहुने बताएकी छन्। महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले आयोजना गरेको सुरक्षित मातृत्व अधिकार सम्बन्धि छलफल कार्यक्रममा प्रस्तावक सांसद सीता (उर्मिला) थपलियाले यो प्रस्ताव सबै सुत्केरी आमालाई लाभ पुर्याउने उद्देश्यले ल्याइएको बताइन् ।
संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई स्वस्थ्य नागरिक उत्पादन र मानवअधिकारसँग जोडेर हेर्न उनले आग्रह गरिन् । उनले मातृत्व र शिशुको उचित हेरचाहका लागि सुत्केरी बिदा आवश्यक रहेको बताउँदै बच्चाको स्वास्थ्य र भविष्य निर्माणमा आमाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन्।
“पुरुषको नजरमा महिलालाई ६ महिना बिदा दिने भनेको यत्तिकै घरमा बस्न, आराम गर्न दिने भन्ने सोचाइ छ,” थपलियाले भनिन्, “तर वास्तवमा जन्माएको सन्तानलाई सुरक्षित र राम्रो अवस्थामा हुर्काउन सकिएन भने पछि जतिसुकै औषधि उपचार गरे पनि ऊ सक्षम र सबल बन्न सक्दैन।”
उनले शिशुको शारीरिक तथा मानसिक विकासका लागि आमाको स्तनपान र प्रारम्भिक स्याहार अत्यन्तै महत्वपूर्ण हुने बताइन्। बच्चाले आवश्यक समयमा उचित हेरचाह पाउन नसके पछि त्यसको क्षतिपूर्ति गर्न कठिन हुने उनको भनाइ थियो। “जुन समयमा हामीले बढी केयर गर्न सक्दैनौँ, जुन समयमा हामीले उनलाई महत्त्वका साथ हुर्काउन सक्दैनौँ, पछि हामीले धिक्कारेर केही हुँदैन,” थपलियाले भनिन्।
उनले बालबालिकालाई सक्षम र सबल बनाउन आमाको मात्रै जिम्मेवारी नभई बुबा, परिवार, समाज र राज्य सबैको उत्तिकै भूमिका रहने बताइन्। “महिलाले मात्रै बच्चा पाउने, हुर्काउने अधिकार हो, तर त्यो मात्रै महिलाको दायित्व र कर्तव्य होइन,” थपलियाले भनिन्, “एउटा बुबा, एउटा परिवार र एउटा समाजको पनि बच्चालाई सबल र सक्षम बनाउन उत्तिकै हातेमालो जरुरी छ।”
उनले मातृत्वसम्बन्धी विषयमा सरकारलाई सकारात्मक दबाब दिन सबैलाई आग्रहसमेत गरिन्। मातृत्व र शिशुको सुरक्षासँग जोडिएका विषयमा सबैको घर र समाजबाटै सहयोग आवश्यक रहेको उनको भनाइ थियो। आफूले कानुनका धारा–धारा उल्लेख नगरी आफ्नै अनुभवका आधारमा विषय राखेको बताउँदै उनले कानुनविद् तथा अधिवक्ताहरूलाई पनि यस विषयमा सक्रिय रूपमा आवाज उठाउन आग्रह गरिन्।
“सदनमा, सडकमा र तपाईंले लेख्ने ठाउँमा, बोल्ने ठाउँमा एकदमै अव्वल तरिकाले गरिदिनुभयो भने यो १०० प्रतिशत पास हुन्छ,” थपलियाले भनिन्।

