
परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क जाने, प्रधानमन्त्री साह ६ गते प्रस्थान गर्ने
काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपाली टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार न्यूयोर्क पुगेपछि मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत हुने विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउने कार्यक्रम छ।
महासभाका क्रममा खनालले विभिन्न देशका समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ। भेटवार्तामा नेपालका द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विषयमा छलफल हुने बताइएको छ।
यसैबीच प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डल असोज ६ गते संयुक्त राज्य अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको महासभालाई असोज ८ गते सम्बोधन गर्नेछन्।
महासभामा नेपालको सहभागितालाई अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्राथमिकता, चासो र धारणा प्रस्तुत गर्ने अवसरका रूपमा हेरिएको छ। प्रधानमन्त्री र परराष्ट्रमन्त्रीको सहभागितासँगै विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षीय तथा बहुपक्षीय भेटवार्तासमेत हुने कार्यक्रम रहेको छ।

