
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल

काठमाडौं । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोन्सन र उच्चतहका युरोपेली सुरक्षा अधिकारीहरू रुसी आक्रमणबाट बच्न सफल भएका छन् । उनीहरू सवार रेल छुटेको केही समयपछि युक्रेन–पोल्यान्ड सीमानजिकै एक युक्रेनी रेलमाथि रुसी ड्रोनले आक्रमण गरेको थियो । याहोदिनमा भएको आक्रमणमा रेलको इन्जिनमा क्षति पुगे पनि कुनै पनि मानवीय क्षति नभएको बीबीसीले जनाएको छ । युक्रेनी अधिकारीहरूका अनुसार आक्रमण हुनुअघि नै सबै यात्रुलाई सुरक्षित रूपमा रेलबाट बाहिर निकालिएको थियो ।
जोन्सन, बेलायती प्रधानमन्त्री कार्यालयका राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेललगायत युरोपेली राष्ट्रिय सुरक्षा अधिकारीहरू किभमा आयोजित एक सम्मेलनबाट फर्कने क्रममा अर्कै रेलमार्फत सोही रेलवे लाइन हुँदै गएका थिए । रुसले पश्चिमी युक्रेनको ‘रेलवे पूर्वाधार’लाई निशाना बनाएको जनाएको छ । तर, युक्रेनको सरकारी रेलवे कम्पनी उक्रजालिज्निचियाले आक्रमणको निशाना सम्भवतः कूटनीतिक रेल नै हुन सक्ने जनाएको छ ।
कम्पनीले वक्तव्य जारी गर्दै रूसी आक्रमणको खतराका कारण समयतालिकामा गरिएको परिवर्तनले कूटनीतिक रेल अपेक्षाभन्दा अघि नै स्टेसनबाट छुटेको जनाएको छ । कम्पनीका अनुसार जेट–सञ्चालित रुसी ड्रोनले आक्रमण गर्नुभन्दा ठीक १५ मिनेटअघि प्रभावित रेलका यात्रुलाई बाहिर निकाल्न आदेश दिइएको थियो ।
रेलवे प्राधिकरणका अनुसार ड्रोन आक्रमणका बेला अमेरिकी गुप्तचर संस्था सीआईएका पूर्वप्रमुख डेभिड पेट्रायस पनि याहोदिन स्टेसनमा रहेको अर्को रेलमा सवार थिए । युक्रेन र पोल्यान्डका अधिकारीहरूका अनुसार रुसी ड्रोनले पोल्यान्डको सीमाबाट करिब दुई किलोमिटर टाढा आक्रमण गरेको थियो ।

