
रोग र वियोगको दोहोरो मारमा नरमाया : बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता

म्याग्दी । बीस वर्षअघि तीन दिनकी सुत्केरी छँदा श्रीमान् बेपत्ता भएको पीडा भोगेकी म्याग्दीको मालिका गाउँपालिका-४ छापकी ४५ वर्षीया नरमाया घर्तीको जीवन फेरि अँध्यारिएको छ।
नाकको गम्भीर स्वास्थ्य समस्या झेलिरहेकी नरमायाका २३ वर्षीय छोरा भुपेन्द्र रेग्मी भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भए। त्यसपछि उनी छोराको खोजी र आफ्नै उपचारको दोहोरो पीडामा परेकी छन्।
रसुवामा निर्माणाधीन जलविद्युत् आयोजनामा कामदार रहेका भुपेन्द्रले भदौ ९ गते साँझ आमालाई फोन गरेका थिए। ‘असोजमा उपचारका लागि काठमाडौँ जाने, दसैँअघि बिहे गर्ने र पोखरा गएर बस्ने योजना भुपेन्द्रले सुनाएका थिए,’ नरमायाले भनिन्, ‘१० गतेदेखि छोरासँग सम्पर्क भएको छैन।’ नयाँ नम्बरबाट फोन आउँदा कतै छोराले पो गर्यो कि भन्ने आस उनलाई लाग्छ।
छोराको खोजीका लागि स्थानीय जनप्रतिनिधि, निर्माण कम्पनी, आयोजना र सरकारी निकायमा गुहार मागेकी नरमायालाई काठमाडौँबाट घर फर्कने आँट आएको छैन। ‘छोराको अवस्था टुङ्गो नलागी कसरी घर जानु?’ नरमायाले भनिन्, ‘तीन दिनको सुत्केरी हुँदा श्रीमान् बेपत्ता हुनुभयो। भोटेकोशीको बाढीले मेरो भरोसा खोस्यो, झनै पीडा थपिदियो।’
खेतीकिसानी गरेर जीवन निर्वाह गर्दै आएकी नरमायाका श्रीमान् नन्दबहादुर रेग्मी बेपत्ता भएको २० वर्ष पुगेको छ। नन्दबहादुर दरवाङको एक किराना पसलमा बजार प्रतिनिधिको काम गर्थे। उनी बेपत्ता हुँदा नरमायाकी छोरी तीन दिनकी थिइन्। अवस्था पत्ता नलागेपछि आफन्त र गाउँलेहरूको सल्लाहमा नन्दबहादुरको धार्मिक विधिअनुसार काजकिरिया भइसकेको छ।
आर्थिक अभावका कारण नरमायाले अदालतबाट श्रीमान्को न्यायिक मृत्यु प्रमाणित गराउन सकिनन्। नन्दबहादुरको नागरिकता र उनीहरूबीच विवाह दर्ता नभएकाले प्रक्रिया पूरा गर्न नसक्दा नरमाया सामाजिक सुरक्षा भत्ताबाट वञ्चित छिन्।
कक्षा ८ सम्म पढेका भुपेन्द्रले ज्यालामजदुरी गरेर बहिनीलाई कक्षा १० सम्म पढाए। गत जेठमा नाकमा समस्या देखिएपछि उनले आमालाई दुई महिना गण्डकी अस्पतालमा उपचार गराएका थिए। भुपेन्द्र पोखराबाट आमालाई घर पठाएर मजदुरी गर्न रसुवा गएका थिए। नरमायाको नाकको समस्या अझै पहिचान भएको छैन। उनले मासिक २१ हजार रुपैयाँको औषधि सेवन गर्नुपर्छ। थप उपचारका लागि असोजमा काठमाडौँ लैजाने भुपेन्द्रको योजना थियो।
स्थानीय ओखरबोट माविका शिक्षक नवीन पुनले नरमायाको जीवनमा एकपछि अर्को वज्रपात परेको बताए। ‘चिकित्सकले ब्रेन ट्युमरको आशङ्का गरेर थप उपचारका लागि काठमाडौँ वा भारत जान भनेपछि पैसा जुटाउन भुपेन्द्र रसुवा पुगेका थिए,’ पुनले भने, ‘अहिले नरमायासामु बेपत्ता छोरा खोज्ने र आफ्नो उपचार गर्ने दुवै चुनौती खडा भएको छ।’
बागलुङमा विवाह भएकी नरमायाकी छोरीको बच्चा सानो भएकाले उनले आमालाई सघाउन सकेकी छैनन्। शिक्षक पुनको अगुवाइमा नरमायाको उपचारका लागि सहयोग सङ्कलन अभियान सुरु भएको छ।
‘एक हप्ताको अवधिमा सामाजिक सञ्जालमार्फत गरिएको अपिलबाट नरमायाको खातामा करिब दुई लाख ५० हजार रुपैयाँ जम्मा भएको छ,’ पुनले भने, ‘प्रतिबद्धता जनाएका सबैले सहयोग गरेमा करिब आठ लाख रुपैयाँ जुट्ने अनुमान छ।’ रोग पहिचान र उपचार गर्न पायो हुन्थ्यो भन्ने लागे पनि अस्पतालमा कुरुवा बसिदिने परिवारका सदस्य र आफन्त नहुँदा अप्ठ्यारो परेको उनले जानकारी दिए।

