
१२ हजारबाट सुरु गरेको माछापालनबाट वार्षिक १५ लाख बचत

धनगढी । कैलालीको कैलारी गाउँपालिका–४ का किसान हेमन्त खरेलले माछापालन व्यवसायबाट वार्षिक करिब १५ लाख रुपैयाँ बचत गर्दै आएका छन्। ११ वर्षअघि सानो लगानीबाट सुरु गरेको माछापालन अहिले उनको प्रमुख आम्दानीको स्रोत बनेको छ।
विदेश गएर रोजगारी गर्नुभन्दा स्वदेशमै व्यवसाय गर्ने सोचका साथ माछापालन सुरु गरेका खरेलले सुरुवातमा १२ हजार रुपैयाँ लगानी गरेका थिए। हालसम्म माछापालनमा करिब ५० लाख रुपैयाँ लगानी भइसकेको उनले बताए।
आफ्नै जमिनमा चारवटा ठूला पोखरी निर्माण गरी माछापालन गर्दै आएका खरेलको वार्षिक कारोबार करिब ६५ लाख रुपैयाँ पुग्ने गरेको छ। सबै खर्च कटाएर वार्षिक करिब १५ लाख रुपैयाँ बचत हुने उनले बताए। “माछापालनमा लगानीसँगै मेहनत र समय पनि दिनुपर्छ। राम्रो व्यवस्थापन गर्न सके परिवारको खर्च धान्ने मात्र होइन, राम्रो बचतसमेत गर्न सकिन्छ,” खरेलले भने।
माछापालनको रेखदेख र हेरचाहका लागि उनले आठ जना स्थानीयलाई रोजगारीसमेत दिएका छन्। उनीहरूको मासिक तलबमा मात्रै एक लाख ५२ हजार रुपैयाँ खर्च हुने गरेको खरेलले जानकारी दिए। उनका पोखरीमा अहिले ग्रास, कमन कार्प, रहु, जलकपुरलगायत जातका करिब ३०० क्विन्टल माछा छन्। माछा होलसेलमा प्रतिकिलो ३०० रुपैयाँ र खुद्रामा ३५० रुपैयाँसम्ममा बिक्री हुँदै आएको उनले बताए।
दक्षिणी सीमामा पछिल्लो समय गरिएको कडाइका कारण भारतबाट अवैध रूपमा भित्रिने माछाको आयात रोकिएपछि स्थानीय बजारमा उत्पादित माछाले अपेक्षित मूल्य पाउन थालेको खरेलको भनाइ छ।
माछापालनसँगै उनले कुखुरा र बङ्गुरपालन व्यवसायसमेत गर्दै आएका छन्। स्थानीय उत्पादनको प्रवर्द्धन र युवालाई कृषितर्फ आकर्षित गर्न माछापालनजस्ता व्यवसायलाई प्रोत्साहन गर्न सके गाउँमै रोजगारी सिर्जना हुनुका साथै किसानको आर्थिक अवस्था सुधारमा समेत योगदान पुग्ने उनको भनाइ छ।

