
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयक : मन्त्री गौतम
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले दुवै पक्षले हार र जितको अवस्था हासिल गराउन मेलमिलापसम्बन्धी विधेयक संशोधन गर्न लागिएको बताएकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा ‘मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले मेलमिलाप बढेमा अदालतमा मुद्दाको चाप घटाउने विश्वास व्यक्त गरिन् ।
उनले मेलमिलाप कार्य बढेमा दुवै पक्षको खर्च कम हुने, छिटो र सरल रूपमा न्याय प्राप्त हुने तथा विवादित पक्षमा पछिसम्म ‘इगो’ कायम नहुने स्पष्ट पारिन् । उनले कानुनले मेलमिलाप गर्न निषेध गरिएका विषयमा मेलमिलाप नहुने बताइन् ।
सांसदहरूले स्थानीय तहको सहयोगमा सामुदायिक मेलमिलाप कार्य बढाउन विधेयक महत्त्वपूर्ण हुने तर बाध्यताका आधारमा मेलमिलाप हुन नहुने धारणा राखेका थिए । यस्तै, मेलमिलापको ध्येय मुद्दा घटाउनु मात्र होइन, न्यायपूर्ण समाजको स्थापना पनि गर्नु भएकाले विधेयकलाई त्यसअनुसार संशोधन गर्न सुझाव दिइयो ।
बैठकमा सो विधेयक विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ । सो विधेयकमाथि अब संशोधनको सूचना दर्ता र सम्बन्धित समितिमा दफाबार छलफलका लागि पठाइनेछ ।


