
चोरी हुने डरले घरको छतमै स्कर्पियो पार्क, क्रेनको सहारामा उचालेर राखियो

नयाँ दिल्ली । आफ्नो कार वा मोटरसाइकलको माया त कसलाई पो नलाग्ला र ? कतै पार्क गर्ने बेलामा सवारी साधनमा अलिकति मात्रै कोतरियो भने पनि हाम्रो मन कुटुक्क खान्छ । यसलाई जोगाउन हामी अनेकौँ जतन गर्छौ । तर भारतको बिहारमा एक व्यक्तिले आफ्नो महिन्द्रा स्कर्पियो चोरी हुनबाट बचाउन अनौठो उपाय अपनाएका छन् ।
विदेश जानुअघि ती व्यक्तिले आफ्नो एसयूभीलाई क्रेनको सहायताले घरको छतमा पुर्याएर पार्क गरेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा महिन्द्रा स्कर्पियो क्लासिकलाई क्रेनको सहायताले एउटा भवनको छतमा राखिँदै गरेको देखिन्छ । गाडीलाई सुरक्षित राख्न अपनाइएको यो उपाय देखेर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले विभिन्न प्रतिक्रिया दिइरहेका छन् ।
सामान्यतया मानिसहरू आफ्नो गाडी चोरी वा क्षति हुने डरले सुरक्षित पार्किङस्थल खोज्छन् । तर ती व्यक्तिले भने गाडीलाई जमिनमा पार्क गर्नुको सट्टा घरकै छतमा पुर्याउने उपाय रोजे । प्राप्त विवरणअनुसार गाडीका मालिकलाई कामको सिलसिलामा विदेश जानुपर्ने भयो । यसलाई कुनै पार्किङ स्थलमा राख्न वा आफन्तलाई जिम्मा दिन उनले चाहेनन् । आफ्नो अनुपस्थितिमा गाडी चोरी वा अन्य क्षति हुन सक्ने चिन्ताले ती व्यक्तिलाई यति धेरै सतायो कि उनले क्रेन बोलाएर गाडीलाई बरु घरको छतमै पार्क गरेर राखे ।
भाइरल भिडियोमा गाडीलाई क्रेनमार्फत भवनको छतमा पुर्याइएको दृश्य स्पष्ट देखिन्छ । तर यो घटना बिहारको कुन ठाउँमा भएको हो, स्कर्पियोका मालिक को हुन् र गाडीलाई छतमा राख्न आवश्यक अनुमति लिइएको थियो वा थिएन भन्नेबारे कुनै स्पष्ट जानकारी सार्वजनिक भएको छैन ।

