
शवमाथि राजनीतिको रोटी सेक्ने दुष्प्रयासले कसैलाई लाभ गर्दैन : गणेश पराजुली

काठमाडौं । रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीले विपद्को बेलामा शवमाथि राजनीतिको प्रयास भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै तत्काल पहिचान खुल्न नसकेका मृतकको हकमा राज्यले व्यवस्थापन गर्दा अन्तिम संस्कार गरिएको वा गाडिएको भनेर भ्रम छर्ने प्रयास भएको बताए।
उनले भने, ‘मानवीय संवेदना बिर्सिएर ती आफन्तजन गुमाएर पीडा भोगिरहेका परिवारजनको दुःखमा दूषित राजनीतिक आक्रोश वा आक्षेपको राजनीतिको रोटी सेक्ने दुष्प्रयासले हामी कसैलाई सकारात्मक लाभ प्रदान गर्ने छैन।’ अन्तर्राष्ट्रिय अभ्यास अनुसार प्रत्येक मृतकको छुट्टाछुट्टै अभिलेख तयार गर्ने, उपलब्ध शारीरिक तथा फोरेन्सिक विवरण र फोटो सुरक्षित गर्ने, डीएनए नमुना सङ्कलन गर्ने, विशिष्ट पहिचान नम्बर दिने र सुरक्षित राखिएको स्थान समेत अभिलेखीकरण गर्ने प्रक्रिया अपनाइएको बताए।
उनले भने, ‘परिवारजन वा आफन्तको डीएनए तथा अन्य प्रमाणसँग मिलान गरी भविष्यमा पहिचान स्थापित गर्न सकिने गरी शवलाई जमिनमुनि व्यवस्थित र सम्मानजनक र पछि पुनः प्राप्त गर्न सकिने गरी अस्थायी रूपमा सुरक्षित राख्ने प्रणाली अपनाइएको छ। यसको मूल उद्देश्य मृतकको पहिचान थाहा पाउने अधिकार सुरक्षित राख्न अपनाइएको विश्वव्यापी अभ्यास हो।’

