
सेनाका अधिकारी भन्छन्- सुरुङभित्र जमेको सामग्री हटाउन ३/४ महिना लाग्न सक्छ

काठमाडौं । बाढीका कारण जलविद्युत आयोजनाका सुरुङभित्र फसेकाहरूको खोजी कार्य झन् चुनौतीपूर्ण बेनको उद्धारमा खटिएका सैनिक अधिकारीले जनाएका छन् । नेपाली सेनाको ६ नम्बर बाहिनीपति सहायक रथी तथा ‘फर्वाड जोइन्ट अप्रेसन सेल’ का कमान्डर उज्ज्वलविक्रम राणाले प्रभावित क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी दिएका छन् ।
सुरुङहरूभित्र जमेको लेदो र गेग्रान निकाल्न आधुनिक मेसिन पुर्याउन सडक अभावमा असम्भव देखिएको र मेसिन पुगे पनि सफा गर्न कम्तीमा ३ देखि ४ महिना लाग्ने उनले बताएका छन् ।
रसुवागढी हाइड्रोपावरको टर्बाइन क्षेत्र पूरै पानी र लेदोले भरिएको र कोही पनि जीवित भेटिने सम्भावना नरहेकाले त्यहाँको खोजी कार्य हाललाई बन्द गरिएको उनको भनाइ छ । यस्तै, लाङटाङको सुरुङमा सेनाको टोली ६४ मिटर भित्रसम्म पुगे पनि दुई फिटको पनि ठाउँ नभएकाले अगाडि बढ्न नसकिएको राणाले सुनाए । २१६ मेगावाटको आयोजनाको सुरुङमा भने हिजोदेखि पुनः खोजी सुरू गरिएको छ ।
धुन्चेभन्दा उत्तरी भेगमा सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएकाले उद्धार र राहतका लागि हवाई मार्ग (एयरलिफ्ट) बाहेक अर्को विकल्प नरहेको उनले बताए । हाल टिमुरेमा सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएर शव निकाल्ने कार्य गरिरहेको र हराइरहेकाहरूको खोजीका लागि जङ्गल र तटीय क्षेत्रका प्रत्येक सेक्सनमा सेनाको टोली परिचालन गरिएको उनले बताए ।

