
हेटौँडा–काठमाडौं आवतजावतमा ‘वान–वे’ रुटबाट

काठमाडौं । हेटौँडा–काठमाडौं सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ ।
स्थानीय प्रशासनका अनुसार १४ सिटभन्दा कम क्षमताका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै काठमाडौं आउने छन् । काठमाडौंबाट हेटौँडा जाने सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै जानु पर्ने छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार, मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौं जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौं आवतजावत गर्ने सवारीको चाप बढेको छ । नयाँ व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी जाम तथा लामो समय सवारी रोक्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

