
जलविद्युत् आयोजनाको सहयोगमा घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँट जोड्ने घुमाउनेताल–मौवाफाँट सडक कालोपत्र गरिने भएको छ । रघुगङ्गा गाउँपालिकामा सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरूको सहयोगमा कालीगण्डकी करिडोरको घुमाउने तालदेखि पिप्ले हुँदै पालिकाको केन्द्र मौवाफाँट जोड्ने सडक कालोपत्र गर्न लागिएको हो । दुई दशकअघि मार्ग खुलेको उक्त सडक स्तरोन्नतिसहित कालोपत्र योजना सुरु भएको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले जानकारी दिए ।
“कालीगण्डकी करिडोरको बेनी–जोमसोम सडकअन्तर्गत घुमाउने तालदेखि गाउँपालिका केन्द्र मौवाफाँट जोड्ने छ किलोमिटर ४०० मिटर सडक कालोपत्र गर्न लागिएको हो”, उनले भने, “४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरको ८० प्रतिशत र पालिकाभित्र निर्माण सम्पन्न भएका र निर्माणाधीन अन्य जलविद्युत् आयोजनाहरूको २० प्रतिशत लागत साझेदारीमा सडक स्तरोन्नतिसहित कालोपत्र योजना अगाडि बढाइएको हो ।”
घुमाउने तालदेखि पिप्ले हुँदै पालिका केन्द्र मौवाफाँट चोकसम्म कालोपत्र र त्यहाँदेखि बुक्ल–बाँधस्थल खण्डको सडक ग्राभेलसहित खोल्साहरूमा कलभर्ट निर्माण गरिने योजना छ । साँघुरो, जीर्ण र कच्ची सडकलाई, घुम्ती सुधार, नाली, पर्खाल तथा ग्यावियन निर्माण गरी फराकिलो पारेर कालोपत्र योजना थालिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिए ।
जलविद्युत् आयोजनाहरूले पहुँच मार्गका रूपमा प्रयोग गरेको सडक स्तरोन्नतिका लागि गाउँपालिकाले धेरै प्रयास गरेपछि अहिले आएर सार्थकता पाएको उनले बताए । गाउँपालिकाको संयोजनमा एक वर्षअघि भएको राजनीतिक दल, सरोकारवाला र जनप्रतिनिधिसमेतको छलफलमा जलविद्युत् आयोजनाले पहुँच मार्गका रूपमा प्रयोग गरेको सडक स्तरोन्नति गर्ने प्रतिबद्धता जनाएअनुसार कालोपत्रको योजना अघि बढेको अध्यक्ष भण्डारीले बताए ।
हाल रघुगङ्गा हाइड्रोपावरले सडक फराकिलो पार्ने, नाली निर्माण र सवबेस हाल्ने काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले बताए । उनका अनुसार राहुघाट जलविद्युत् आयोजनाले कालोपत्र गर्ने कामबाहेकका सम्पूर्ण काम गर्ने र अन्य जलविद्युत् आयोजनाहरूले कालोपत्र गर्ने खर्चको २० प्रतिशत लागत व्यहोर्नेगरी सम्झौता भएको छ । आगामी कात्तिक १५ गतेसम्म सडक स्तरोन्नतिको काम सक्नुपर्ने आयोजनासँग लिखित सम्झौता भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।
सडक स्तरोन्नतिसहित कालोपत्र भएपछि रघुगङ्गाका आठवटै वडाका बासिन्दालाई सहज हुने जनाइएको छ । रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाट नदीमा ४८.५ मेगावाटको माथिल्लो राहुघाट, ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, २१.३ मेगावाटको ठूलोखोला, २२.५ मेगावाटको माथिल्लो ठूलोखोला ‘ए’ लगायतका आयोजना सञ्चालनमा छन् । चालीस मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादनको तयारी गरेको छ ।

