
ऐसेलुखर्कको खानेपानी समस्या समाधान

खोटाङ। खोटाङको ऐसेलुखर्क गाउँपालिकामा तीनवटा खानेपानी आयोजनाबाट ३०० बढी उपभोक्ता लाभान्वित भएका छन्। ऐसेलुखर्क गाउँपालिका-२ बाकाचोल र ऐसेलुखर्क गाउँपालिका-७ माक्पामा सञ्चालित खानेपानी योजनाबाट ३७० घरका स्थानीय लाभान्वित भएका हुन् ।
गाउँपालिका, उपभोक्ता र एक्सन फर नेपालको त्रिपक्षीय लागतमा बाकाचोलमा लुबेरा बादेल खानेपानी आपूर्ति योजना र झाँक्रीबास खानेपानी आपूर्ति योजना तथा माक्पामा रोलु खोला नोरुङ खानेपानी आपूर्ति योजना सञ्चालनमा ल्याइएको हो ।
तीनवटा आयोजनाबाट उपभोक्ताको घर र सार्वजनिकस्थलमा गरि ३७२ वटा धारा निर्माण भएको ऐसेलुखर्क गाउँपालिका अध्यक्ष गिरेन्द्र राईले बताए ।
कुल एक करोड ३६ लाख ८४ हजार ७८५ रुपैयाँमा सम्पन्न लुबेरा बादेल खानेपानी आपूर्ति योजनाबाट २०४ वटा धारा निर्माण गरिएको छ । गत असार १६ गते सम्पन्न आयोजनाका लागि उपभोक्ताले १३ लाख ६८ हजार ४७८ रुपैयाँ बेहोरेका छन् ।
यस्तै, ४२ लाख ७२ हजार ९५८ रुपैयाँको लागतमा सम्पन्न रोलु खोला नोरुङ खानेपानी आपूर्ति योजनाबाट ४४ घर र सार्वजनिकस्थलमा दुई वटा धारा निर्माण गरिएको छ । सो आयोजना गत जेठ ६ गते उद्घाटन गरिएको हो ।
झाँक्रीबास खानेपानी आपूर्ति योजनामार्फत १२२ वटा धारा निर्माण गरिएको वडाध्यक्ष नन्दकुमार तामाङले बताए । सो आयोजना २०८२ साल जेठ १२ गते उद्घाटन गरिएको हो ।
खानेपानी आयोजना सञ्चालनअघि झाँक्रीबासमा पानीको दु:ख थियो । करिब सात किलोमिटर टाढाको मुहानबाट गाउँमा पानी ल्याइएपछि झाँक्रीबासमा खानेपानीको समस्या हल भएको छ । हाल पिउनदेखि तरकारी र फलफुल बारीमा सिँचाइ गर्नसमेत पानीले पुगेको स्थानीय बिष्णुमायाँ तामाङले बताइन् ।

