
९० दिनभन्दा बढी अवधि अनुपस्थित रहेको भन्दै लेखापाल ज्ञवालीलाई सेवाबाट हटाइने

काठमाडौं । महालेखा नियन्त्रक कार्यालयले यान्त्रिक तालिम केन्द्र ललितपुरमा नेपाल प्रशासन सेवा लेखापाल पदमा कार्यरत सरस्वती घिमिरे ज्ञवालीलाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ ।
कार्यालयका अनुसार ज्ञवाली विक्रम संवत् २०८१ पुस २ गतेदेखि आफू पदमा रहेको कार्यालयमा बिनाजानकारी ९० दिनभन्दा बढी अवधि अनुपस्थित रहेको देखिएको छ। यसअघि निजामती सेवा ऐन, २०४९ को दफा ६१ को १ (छ) अनुसार ‘भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट किन नहटाउने हो ?’ भन्दै महालेखाले विक्रम संवत् २०८३ साउन १२ गतेको गोरखापत्र दैनिकमा १५ दिनभित्र सफाइ र स्पष्टीकरण पेस गर्ने गरी सूचना प्रकाशित गरेको थियो।
उक्त ऐनको दफा ६६ को प्रावधान अनुसारको समयसीमाभित्र ज्ञवालीका तर्फबाट कुनै सफाइ तथा स्पष्टीकरण पेस नभएपछि कार्यालयले दोस्रो पटक सूचना जारी गरेको छ।
निजामती सेवा नियमावली, २०५० को नियम ११० (ख) बमोजिम विक्रम संवत् २०८३ भदौ ३ गते दोस्रो पटक सूचना प्रकाशित गर्दै कार्यालयले निजामती सेवा ऐनको दफा ६७ को प्रयोजन दफा ५९ (ख) (१) बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी किन नहटाउने भन्ने विषयमा ३० दिनभित्र सफाइ र स्पष्टीकरण पेस गर्न अन्तिम अवसर दिएको छ।

