
नाइमा एक्स्पो सम्पन्न, एक लाख ८० हजार अवलोकनकर्ताको सहभागिता, ७५ सयभन्दा बढी सवारी बुकिङ

काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ समापन भएको छ । साउन २६ गते भव्य कार्यक्रमबीच औपचारिक उद्घाटन भएको नाइमा एक्स्पो एक लाख ८० हजारभन्दा बढी अवलोकनकर्ताको उत्साहजनक उपस्थितिसहित आज समापन भएको हो ।
नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको मेलाको समापनका दिन आज ३० हजारभन्दा बढीले अवलोकन गरेका छन् । त्यस्तै एक्स्पोको उद्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार, चौथो दिन ३१ हजार तथा पाँचौँ दिन शनिबार ४२ हजारभन्दा बढीले अवलोकन गरेका थिए । नाइमाले ६ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो ।
समापन कार्यक्रममा अध्यक्ष रितु सिंह वैद्यले ५५ भन्दा बढी ब्रान्ड सहभागी हुनु, एक लाख ८० हजारभन्दा बढीले अवलोकन गर्नु तथा ५३ वटा नयाँ उत्पादन सार्वजनिक हुनु नै यस एक्स्पोको ठूलो उपलब्धि भएको बताइन् । ’यो एक्स्पो कुनै एक व्यक्ति वा संस्थाको मात्र सफलता होइन, नेपालको सम्पूर्ण मोबिलिटी उद्योगको सामूहिक सफलता हो, म सबै सहभागीलाई हार्दिक धन्यवाद भन्न चाहन्छु,’ उनले भनिन्, ’एक्स्पोमा नयाँ सवारीसाधन र प्रविधि प्रदर्शनसँगै ज्ञान र सिकाइलाई पनि प्राथमिकता दिएका थियौँ, एक्स्पो सवारी साधन प्रदर्शन गर्नेमात्र नभएर ज्ञान सिर्जना गर्ने प्लेटफर्म पनि बन्नुपर्छ भन्ने हाम्रो विश्वास हो ।’
एक लाख ८० हजारभन्दा बढी मानिस एक्स्पोमा आउनु नाइमा जस्तो युवा संस्थाका लागि सबैभन्दा ठूलो उत्साह र प्रोत्साहन भएको उनले बताइन् । ’यो अन्त्य होइन, सुरुवात हो,’ उनले भनिन्, ’आगामी दिनमा अझ ठूलो, अझ राम्रो र अझ बलियो भएर अघि बढ्ने हाम्रो लक्ष्य छ ।’ नाइमाका बोर्ड सदस्य क्याबिनेट श्रेष्ठले नाइमा एक्स्पोमा यति ठुलो संख्यामा मानिसको आगमन हुनु सुखद संकेत भएको बताए । ’नाइमा एक्स्पो सबै हिसाबले सफल भएको छ,’ उनले भने, ’अटो इन्डस्ट्रीकै लागि यो खुसीको विषय हो ।’
अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडा मेला सोचे र अनुमान गरेभन्दा बढी सफल भएको बताए । ’हामीले अपेक्षा गरेभन्दा धेरै नै बढी मानिसले मेला अवलोकन गर्नुभएको छ,’ उनले भने, ’सोचेभन्दा धेरै अवलोकनकर्ता, सोचेभन्दा राम्रो इन्क्वायरी र सोचेभन्दा राम्रो बुकिङ भएको छ, हामी धेरै नै उत्साहित भएका छौं ।’ त्यसैगरी नाइमाका स्ट्राटेजी एन्ड मेम्बरसिप अफेयर्स कमिटीका अध्यक्ष आकाश गोल्छाले मेला सुपरहिट भएको बताए । ’नाइमा एक्स्पोलाई एक शब्दमा बयान गर्ने हो, त्यो शब्द हो सुपरहिट,’ उनले भने ।
नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले बृहत् प्रदर्शनीसहित सिकाइ सत्रहरु, बृहत्तर सहकार्य र मागकेन्द्रित व्यवस्थापनमा ध्यान दिँदै एक्स्पोको परिभाषालाई अवधारणागत रुपमा पुस्ट्याइँ गरिएको बताए । ’अवलोकनकर्ताले देखाएको सन्तुष्टि नै नाइमा एक्स्पो सफलताको मापक हो,’ उनले भने ।
समापनका दिन नाइमा मोबिलिटी संवादमा Importing Talent, Exporting WorkersM Bridging NepalÚs Education, Skills and Entrepreneurship Gap विषयमा छलफल भएको छ । संवादमा प्रतिनिधिसभा सदस्य विदुषी राणा, नाइमाका बोर्ड सदस्य एवं पद्मज्योति ग्रुपका अध्यक्ष सौरभ ज्योति, पद्मकन्या क्याम्पसकी सहायक प्राध्यापक भगवती सेडाइँ र थापाथली इन्जिनियरिङ क्याम्पसका एसिस्टेन्ट प्रोफेसर लोचनकेन्द्र देवकोटा प्यानलिस्टका रुपमा सहभागी भएका थिए भने सहजीकरण सञ्चारकर्मी सञ्जय सिलवाल गुप्ताले गरेका थिए ।
शनिबार AI and Automotive TechnologyM Driving the Future of Mobility र शुक्रबार Technical: Battery Recycle and Ethanol Blending in Fuel विषयमा छलफल भएको थियो । त्यस्तै बिहीबार Mobilizing Mobility through Finance & Insurance विषयमा छलफल तथा अन्तक्र्रिया भएको थियो । बुधबारको Learning Sessions मा ’मोबिलिटी : हिजो आज र भोलि’ विषयमा छलफल तथा अन्तक्र्रिया भएको थियो भने एक्स्पोको पहिलो दिन मंगलबार Investment and Foreign Direct Investment (FDI): Mobilizing–Fuel for Economic Growth विषयमा छलफल भएको थियो ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले दोस्रो संस्करणको एक्स्पो आयोजना गरिएको हो । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको थियो ।
मेलाको को–स्पोन्सरमा ग्लोबल आइएमई बैंक लिमिटेड रहेको थियो भने रेडबुल पावर्डबाईका रुपमा रहेको थियो । त्यस्तै बैंकिङ पार्टनरका रुपमा एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड रहेका थिए । मेलाको इन्स्योरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड रहेका थिए ।
त्यसैगरी, टेक्नोलोजी पार्टनरमा बोस (BOSCH), एजुकेसन पार्टनरमा ग्लोबल कलेज र एम्बार्क कलेज, चार्जिङ पार्टनरमा अग्नि इनर्जी प्राइभेट लिमिटेड र अजायल इन्जिनियरिङ सोलुसन्स प्राइभेट लिमिटेड, राइड पार्टनरमा पठाओ नेपाल प्राइभेट लिमिटेड, हाइड्रेसन पार्टनरमा अक्वा मिनरल्स (अक्वा हन्ड्रेड) प्राइभेट लिमिटेड, हस्पिटालिटी पार्टनरमा द सोल्टी काठमाडौं, मेडिकल पार्टनरमा ग्रान्डी इन्टरनेसनल हस्पिटल, सर्भिलियन्स पार्टनरमा भत्सल इम्पेक्स प्राइभेट लिमिटेड (हिकभिजन) तथा फायर एन्ड सेफ्टी पार्टनरमा हिट्को प्राइभेट लिमिटेड रहेका थिए ।
नाइमा मोबिलिटी एक्स्पोको को–टिकेटिङ पार्टनरमा आइएमई खल्ती लिमिटेड, क्यूआर पार्टनरमा युनियन पे, अडियो भिजुअल पार्टनरमा पायनियर इभेन्ट म्यानेजमेन्ट एन्ड मिडिया नेटवर्क प्राइभेट लिमिटेड, डिजिटल पार्टनरमा डिजिपल सोलुसन्स प्राइभेट लिमिटेड, भेइकल सेफ्टी पार्टनरमा एटीएस नेपाल, म्यानेजमेन्ट पार्टनरमा मिडिया स्पेस सोलुसन्स प्राइभेट लिमिटेड, कनेक्टिभिटी पार्टनरमा वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेड र पब्लिकेसन पार्टनरमा प्रफिट मिडिया प्राइभेट लिमिटेड रहेका थिए ।
७५ सयभन्दा बढी सवारी बुकिङ
आयोजकका अनुसार एक्स्पो अवधिमा करिब ५ हजार ५ सय चारपांग्रे र २ हजारको हाराहारीमा दुईपांग्रे सवारीसाधन बुकिङ भएका छन्। बुकिङ भएका सबै सवारी बिक्री भएमा करिब २० अर्ब रुपैयाँ बराबरको कारोबार हुने व्यवसायीहरूको अनुमान छ।
अवलोकनकर्ताको बाक्लो उपस्थिति र सवारीसाधनको उत्साहजनक बुकिङले व्यवसायीलाई पनि उत्साहित बनाएको छ। कतिपय कम्पनीले उल्लेखनीय बुकिङ भएपछि स्टलमै केक काटे तथा ‘स्याम्पेन’ फोरेर बिक्रीको खुसीयाली मनाएका थिए।
एक्स्पोमा ५५ ब्रान्डका ४४ नयाँ मोडल सार्वजनिक गरिएका थिए। आयोजकका अनुसार यसपटकको एक्स्पोमा विगतका अटो शोको तुलनामा विद्युतीय सवारीसाधनप्रति अवलोकनकर्ताको आकर्षण अझ बढी देखिएको छ। एक्स्पोमा १८ लाख रुपैयाँदेखि करिब ४ करोड रुपैयाँसम्म मूल्य पर्ने सवारीसाधन प्रदर्शनीमा राखिएका थिए।
नाइमा अध्यक्ष ऋतुसिंह वैद्यले देशकै ठूलो मोबिलिटी एक्स्पोलाई सफल बनाउन एक जनाको प्रयासले मात्र सम्भव नभएको बताइन्। सयौं व्यक्ति तथा संस्थाको निरन्तर मेहनत र सहयोगका कारण एक्स्पो सफल भएको भन्दै उनले सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरिन्।
व्यवसायीका अनुसार चारपांग्रे सवारीमा बीवाईडी, टाटा र चेरीले सबैभन्दा बढी बुकिङ प्राप्त गरेका छन्। त्यसपछि वुलिङ, किया, महिन्द्रा, हुन्डाई, एमजी र लिपमोटरका सवारीमा पनि उल्लेखनीय बुकिङ भएको छ। दुईपांग्रेमा एथर, ट्रायम्फ, रोयल इनफिल्ड, याडिया र सीएक्स मोटोका सवारी बढी बुक भएका छन्।
एक्स्पो अवधिमा मुलुकभर बीवाईडीका एक हजारभन्दा बढी सवारी बुकिङ भएको व्यवसायीले बताएका छन्। टाटा र चेरी क्यु३ का पनि ७ सयभन्दा बढी युनिट बुकिङ भएका छन्। कियाले एक्स्पो अवधिमा ७ सयभन्दा बढी सवारी बुकिङ भएको जनाएको छ। तीमध्ये नेपाल भित्रिने क्रममा रहेका ६ सयभन्दा बढी कियाका साइरोस ईभीको बुकिङ भएको कम्पनीको दाबी छ।
त्यस्तै, वुलिङका ४४३, आईकारका ४२१, ओमोडा–जेइकोका ३५०, आर्कफक्सका २००, एमजीका ३२९ र लिपमोटरका २०० युनिट बुकिङ भएका छन्। महिन्द्राका १००, प्रोटनका १००, जीडब्लूएमका २०५, होङ्छीका ५५, टोयोटाका ४६, म्याक्ससका ३४ र निसानका ३५ युनिट बुकिङ भएको व्यवसायीले जानकारी दिएका छन्।
यसैगरी बेइकका ५६, अर्नी बोमाका ३०, फोर्थिङ फ्राइडेका ६० र काईका ८० युनिट बुकिङ भएका छन्। दुईपांग्रे सवारीतर्फ एथरका ४००, याडियाका १४५, रोयल इनफिल्डका १०० र केटीएमका ६० युनिट बुकिङ भएका छन्। सुजुकीका ५०, सीएक्स मोटोका २००, सीएफ मोटोका १०८, ट्रायम्फका १०० र मोर्बिडेलीका ४५ युनिट बुकिङ भएको सम्बन्धित कम्पनीले जानकारी दिएका छन्।

