
नेरुडे मिर्मिरे लघुवित्तले कमायो साढे २३ करोड नाफा, अन्य सूचक कस्ता ?

काठमाडौं । अघिल्लो आर्थिक वर्षको अन्तिमसम्ममा नोक्सानीमा रहेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा उल्लेख्य नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आवमा १८ करोड नोक्सानीमा रहेको लघुवित्तले गत आर्थिक वर्षमा साढे २३ करोडको नाफा कमाएको हो ।
विवरण अनुसार अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा १८ करोड २५ लाख रुपैयाँ खुद नोक्सानीमा रहेको यस संस्थाले गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा २३ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीको सञ्चालन मुनाफामा आएको सुधारलेले नाफा कमाउन सम्भव देखिएको छ । अघिल्लो वर्ष २० करोड १० लाख रुपैयाँ सञ्चालन नोक्सानी व्यहोरेको यस कम्पनीले गत वर्ष भने ३२ करोड ३० लाख रुपैयाँ सञ्चालन मुनाफा कमाएको छ ।
कम्पनीको खराब कर्जा (एनपीएल) मा पनि उल्लेख्य गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षमा ३१.६४ प्रतिशत पुगेको खराब कर्जा गत वर्षको अन्त्यसम्ममा १९.८६ प्रतिशतमा झरेको छ । खराब कर्जा घट्दा कम्पनीको सम्भावित जोखिमका लागि छुट्याइएको रकम पनि घटेसँगै खुद नाफा सकारात्मक प्रभाव देखिएको हो ।
अघिल्लो वर्ष १ अर्ब ४४ करोड ८८ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी गरेको कम्पनीले गत वर्ष १ अर्ब २९ करोड ४३ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) मा पनि ठूलो सुधार भएको छ । अघिल्लो वर्ष १३.०६ रुपैयाँ ऋणात्मक रहेको प्रतिसेयर आम्दानी गत वर्ष १६.८८ रुपैयाँ धनात्मक बनेको छ । त्यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ पनि १८६.५९ रुपैयाँ पुगेको छ । हाल १ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा १ अर्ब २१ करोड ३ लाख रुपैयाँ सञ्चित छ ।

