
६७ प्रतिशतले बढ्यो मकर जितुमाया सुरी हाईड्रोको नाफा

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले आफ्नो खुद नाफा र प्रतिशेयर आम्दानीमा आकर्षक सुधार गर्न सफल भएको देखिएको छ ।
खुद नाफामा ६७.५ प्रतिशतको वृद्धि
कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ७ करोड ८२ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४ करोड ६६ लाख ९४ हजार रुपैयाँ नाफा कमाएकोमा यस वर्ष ६७.५ प्रतिशतले वृद्धि देखिएको हो।
विद्युत् बिक्री आम्दानीमा सुधार
हाइड्रोपावरको विद्युत् बिक्रीमा भएको वृद्धिका कारण कम्पनीको मुख्य आम्दानीको स्रोतमा सकारात्मक प्रभाव परेको छ। समीक्षा अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ३८ करोड ८६ लाख ३२ हजार रुपैयाँबाट बढेर ३९ करोड २१ लाख रुपैयाँ पुगेको छ।
प्रतिसेयर आम्दानी र नेटवर्थ
नाफासँगै कम्पनीका अन्य वित्तीय सूचकहरूमा पनि उल्लेख्य सुधार आएको छ । यो अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी अघिल्लो वर्ष ६ रुपैयाँ १४ पैसा रहेकोमा बढेर १० रुपैयाँ ३० पैसा कायम भएको छ भने प्रतिसेयर नेटवर्थ १०४ रुपैयाँ ३२ पैसाबाट बढेर ११४ रुपैयाँ ६२ पैसा पुगेको छ।
दीर्घकालीन ऋणमा कटौती र कोषको स्थिति
कम्पनीले आफ्नो वित्तीय दायित्व घटाउँदै दीर्घकालीन ऋण १ अर्ब ९३ करोड रुपैयाँबाट घटाएर १ अर्ब ७८ करोड रुपैयाँमा झारेको छ। ७६ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यो कम्पनीको जगेडा कोषमा ११ करोड ११ लाख रुपैयाँ सञ्चित छ।

