
१८१ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफ, अन्य सूचक कस्ता ?

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा नाफामा उच्च वृद्धि देखिएको हो ।
गत आर्थिक वर्षको अन्तिम त्रैमासिकसम्मको अवधिमा लघुवित्तले ७ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा १८१.३६ प्रतिशत बढेको हो । अघिल्लो आर्थिक वर्ष लघुवित्तले २ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज रिभर्स भएका कारण लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको देखिएको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३५.५५ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ३४.८५ प्रतिशत र सञ्चालन मुनाफा १३४.२५ प्रतिशत बढेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तको इम्पेरमेन्ट चार्ज १ करोड २ लाख हजार रुपैयाँ रिभर्स भएको छ । ६ करोड ७० लाख रुपैयाँ वितरणयोग्य मुनाफा रहेको यस लघुवित्तको वितरणयोग्य प्रतिसेयर आम्दानी ५० रुपैयाँ ३ पैसा रहेको छ ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी ३४ रुपैयाँ ७१ पैसा बढेर ५६ रुपैयाँ ८२ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३२.१५ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ १३ पैसा रहेको छ। १३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १४ करोड ९ लाख रुपैयाँ सञ्चित छ ।

