
अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण आवश्यक – अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले उच्च आर्थिक वृद्धि, औद्योगिकीकरण, निर्यात विस्तार र वैदेशिक लगानी आकर्षित गर्न अन्तर्राष्ट्रिय मापदण्डअनुसारको लेखापरीक्षण तथा प्रभावकारी सुशासन आवश्यक रहेको बताएका छन्। नेपाल अडिटर्स एसोसिएसनको २१औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले पारदर्शी वित्तीय प्रणाली र विश्वसनीय लेखापरीक्षण दिगो आर्थिक विकासका आधारस्तम्भ भएको बताए।
उनले सुशासनले लगानीकर्ताको विश्वास बढाउने, वित्तीय जोखिम घटाउने र संस्थागत क्षमता सुदृढ बनाउने उल्लेख गरे। उनका अनुसार सत्यनिष्ठ लेखापरीक्षण, पारदर्शी वित्तीय प्रतिवेदन र जवाफदेही व्यवस्थापनले निजी तथा सार्वजनिक दुवै क्षेत्रलाई बलियो बनाउँछ। अग्रवालले दुई दशकभन्दा लामो समयदेखि नेपाल अडिटर्स एसोसिएसनले व्यावसायिक दक्षता, नैतिकता र वित्तीय अनुशासन प्रवद्र्धनमा पुर्याएको योगदान प्रशंसनीय रहेको बताए।
उनले सार्वजनिक स्रोत–साधनको प्रभावकारी उपयोग र वित्तीय उत्तरदायित्व सुनिश्चित गर्न महालेखा परीक्षकको कार्यालयको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । अध्यक्ष अग्रवालले विश्वास नै अर्थतन्त्रको सबैभन्दा ठूलो पूँजी भएको भन्दै त्यसका लागि सत्यनिष्ठ लेखापरीक्षण, पारदर्शी वित्तीय प्रतिवेदन र जिम्मेवार व्यवस्थापन आवश्यक रहेको धारणा राखे। उनका अनुसार निजी तथा सार्वजनिक दुवै क्षेत्रमा बलियो अडिट प्रणाली विकासलाई आर्थिक विकासको साझेदारका रूपमा स्वीकार गर्नुपर्छ।
प्रविधिले बदल्दैछ लेखापरीक्षणको स्वरूप
अध्यक्ष अग्रवालले कृत्रिम बुद्धिमत्ता (एआई), डेटा एनालिटिक्स, साइबर सुरक्षा र डिजिटल वित्तीय प्रणालीका कारण लेखापरीक्षणको स्वरूप परिवर्तन भइरहेको बताए। अबको अडिट विगतको समीक्षा गर्ने माध्यम मात्र नभई भविष्यका जोखिम पहिचान गर्ने, संस्थागत क्षमता अभिवृद्धि गर्ने र दीर्घकालीन दिगोपन सुनिश्चित गर्ने रणनीतिक उपकरण बन्नुपर्ने उनको भनाइ छ।
उनले अस्थिर नीति, लामो राजनीतिक संक्रमण र कर्मचारीतन्त्रको व्यवहारका कारण नेपालको अर्थतन्त्रले अपेक्षित गति लिन नसकेको उल्लेख गर्दै महालेखा परीक्षकको कार्यालयले निजी क्षेत्रमैत्री दृष्टिकोण अपनाउनुपर्नेमा जोड दिए। निजी क्षेत्रलाई निरुत्साहित गर्ने काम नगर्न आग्रह गर्दै उनले नेपाल चेम्बर अफ कमर्स, निजी क्षेत्र, महालेखा परीक्षकको कार्यालय र अडिट समुदायबीच सहकार्य आवश्यक रहेको बताए। अग्रवालले सक्षम सार्वजनिक संस्था, बलियो निजी क्षेत्र र विश्वसनीय अडिट प्रणालीको संयोजनबाट मात्रै नेपालको आर्थिक समृद्धि सम्भव हुने उल्लेख गर्दै नेपाल अडिटर्स एसोसिएसनलाई २१औँ वार्षिकोत्सवको शुभकामना दिए।

