
भ्याक्सिनेटरको भुक्तानीबाट घुस लिएको आरोपमा सेवा विज्ञ केन्द्रका दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, राजविराजका कार्यालय प्रमुख डा. राम पवित्र दास र हलुका सवारी चालक भोगेन्द्र यादवविरुद्ध घुस लिएको आरोपमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार उनीहरूले भ्याक्सिनेटरहरूलाई सेवा बापतको भुक्तानी उपलब्ध गराएबापत रकमको २० प्रतिशत कमिसन माग गरी रु. १ लाख ३२ हजार ३५० घुस लिएका थिए।
उजुरीका आधारमा आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई घुस रकमसहित नियन्त्रणमा लिएको थियो।
अनुसन्धानबाट डा. दासले कार्यालय प्रमुखको हैसियतमा खोप कार्यक्रम सञ्चालन गरेका भ्याक्सिनेटरहरूको पारिश्रमिक भुक्तानी गराइदिने नाममा सवारी चालक यादवसँग मिलेमतो गरी कमिसन मागेको पुष्टि भएको आयोगले जनाएको छ।
आयोगले उनीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कसुर भएको ठहर गर्दै बिगो रु. १ लाख ३२ हजार ३५० कायम गरी कैद र बराबर जरिवानाको मागदाबी सहित बुधबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।

