
सुनसरीको अवस्थाबारे प्रधानमन्त्रीले मधेशका नेतासँग गरे छलफल

प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरुसँग आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका छन् । प्रधानमन्त्री शाहले सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधान र आपसी सद्भाव कायम राख्ने विषयमा संवाद गर्न त्यस क्षेत्रका नेताहरूलाई बोलाएका थिए । प्रधानमन्त्री शाहसँगको छलफल सकारात्मक रहेको उपस्थित नेताहरूले बताएका छन् ।
छलफलमा प्रधानमन्त्री शाहले मधेशमा शान्ति सुव्यवस्था कायम राख्न र आगामी दिनमा यस्ता गतिविधि हुन नदिन के गर्न सकिन्छ भन्नेबारे नेताहरूको धारणा मागेका थिए । छलफलमा उपस्थित नेताहरूले पछिल्लो समय तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि आफूहरुले सुझाव दिएको र उक्त समस्यामा प्रधानमन्त्री संवेदनशील र प्रतिबद्ध भएको आफूले पाएको बताए।
प्रधानमन्त्री शाहसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै नेताहरुले यसप्रकारको पहलले समस्या समाधानमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । छलफलपछि जनमत पार्टीका अध्यक्ष डा सिके राउतले प्रधानमन्त्री शाहले पहिलो पटक मधेश केन्द्रित राजनीतिक दलसँग छलफल गर्नु धेरै नै सकारात्मक कदम भएको र आफूहरूले पनि तराईका केही जिल्लामा देखिएको समस्या समाधानका लागि सुझाव दिएको बताए।
यस्तै, राजेन्द्र महतोले विगतका सरकारले मधेशसँग गरेका सम्झौता कार्यान्वयन गर्न पनि सुझाव दिएको बताए। उनले मधेशमा देखिएको समस्या समाधानका लागि सरकारको सक्रियता अझ बढाउन पनि प्रधानमन्त्रीसँग आग्रह गरेको उल्लेख गरे। सुनसरीमा भएको घटनाका सम्बन्धमा छानबिन गर्न र समयमै समस्या समाधानका लागि आग्रह गरिएको बताए। छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी थिए।

