
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो

काठमाडौं । अमेरिकास्थित लगानी बैंक हुलिहान लोकीका अनुसार विश्वकै सबैभन्दा धनी ट्वान्टी-२० (टी-२०) प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) को व्यावसायिक मूल्य यस वर्ष ११ प्रतिशतभन्दा बढीले बढेर २०.६ अर्ब अमेरिकी डलर पुगेको छ।
हुलिहान लोकीले बुधबार सार्वजनिक गरेको “२०२६ आईपीएल ब्रान्ड भ्याल्वेसन स्टडी” अनुसार यो वृद्धिले आईपीएलको व्यावसायिक मूल्यमा लगातार दोस्रो वर्ष दोहोरो अङ्कको वृद्धि भएको देखाएको छ।
सन् २००८ मा सुरु भएदेखि १० टोली सम्मिलित यो प्रतियोगिताले विश्वका शीर्ष क्रिकेटरहरूलाई आकर्षित गर्नुका साथै प्रसारण अधिकार (मिडिया राइट्स), प्रायोजन (स्पोन्सरसिप), मर्चेन्डाइज र फ्रेन्चाइज लगानीको बलियो व्यावसायिक मोडल तयार पारेको छ।
यसै वर्षको सुरुमा रोयल च्यालेन्जर्स बैंगलुरु र राजस्थान रोयल्सको स्वामित्वमा भएको परिवर्तनले आईपीएलप्रति ठूला लगानीकर्ताहरूको आकर्षण र स्थापित टोलीहरूको उच्च मूल्यलाई पुनः पुष्टि गरेको छ।
ब्ल्याकस्टोन, बोल्ट भेन्चर्स, आदित्य बिर्ला ग्रुप र टाइम्स अफ इन्डिया ग्रुप सम्मिलित टोलीले गत मार्चमा बैंगलुरु फ्रेन्चाइजलाई १.७८ अर्ब डलरमा किन्ने घोषणा गरेको थियो, जुन लिगकै कीर्तिमानी मूल्य हो। त्यसैगरी, मे महिनामा मित्तल परिवार र अदार पुनावालाले राजस्थान रोयल्सलाई १.६५ अर्ब डलरमा किन्ने बताएका थिए।
“फ्रेन्चाइजको मूल्याङ्कन नयाँ उचाइमा पुगेको छ, निजी पुँजीको सहभागिता द्रुत बनेको छ र लिगको व्यावसायिक वातावरण अझ विविधतापूर्ण हुँदै गएको छ,” हुलिहान लोकीका वित्तीय तथा मूल्याङ्कन सल्लाहकार निर्देशक हर्ष तालिकोटिले भने।
“आईपीएल खेलकुद, मिडिया र उपभोक्ताको अवसरको एक अद्वितीय संगम हो, जसलाई बलियो आम्दानी, अनुशासित लागत संरचना र विस्तार हुँदै गएको विश्वव्यापी दर्शकको साथ रहेको छ।” “पछिल्ला यी खरिद-बिक्रीका सम्झौताहरूले लगानीकर्ताहरूले दीर्घकालीन मूल्य सिर्जनाको अवसरमा निरन्तर देखाएको विश्वासलाई अझ उजागर गर्छन्।”
आईपीएलको एकल (स्ट्यान्ड-अलोन) ब्रान्ड मूल्य गत वर्षको तुलनामा १०.३ प्रतिशतले बढेर ४.३ अर्ब डलर पुगेको छ। साविक विजेता बैंगलुरु ३१ करोड १२ लाख (३१२ मिलियन) डलरको ब्रान्ड मूल्यसहित लिगकै सबैभन्दा मूल्यवान् फ्रेन्चाइजका रूपमा यथावत छ।

