
बंगलादेशका पूर्व कप्तान अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्ध

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बंगलादेशका अलराउन्डर शकिब अल हसनलाई अनुबन्ध गरेको छ। विश्व क्रिकेटका उत्कृष्ट अलराउन्डरमध्ये एक मानिने ४० वर्षीय शकिबलाई भित्र्याएपछि उनको अनुभव, नेतृत्व क्षमता र खेल जिताउने क्षमताले टोलीलाई थप बलियो बनाउने टोलीले को विश्वास लिएको छ ।
बंगलादेशका पूर्व कप्तानसमेत रहेका शकिबले विश्वभरका ३० भन्दा बढी फ्रेन्चाइज टोलीबाट खेलिसकेका छन्। उनले १ सय २९ टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा २ हजार ५ सय ५१ रन बनाउनुका साथै १ सय ४९ विकेट लिएका छन्। यस्तै, सबैखाले टि ट्वान्टी क्रिकेटमा शाकिबले ४ सय ७८ खेल खेल्दै ७ हजार ८ सय ५३ रन बनाएका छन् । त्यस्तै ५ सय १५ विकेट आफ्नो नाममा राखेका छन्।
पोखरा एभेन्जर्सका महाप्रबन्धक अमित लोहानीले शाकिबलाई टोलीमा स्वागत गर्न पाउँदा उत्साहित रहेको बताएका छन्। उनले शाकिबको अनुभव, व्यावसायिकता र अलराउन्ड प्रदर्शनले टोलीलाई मैदानभित्र र बाहिर दुवैतर्फ प्रेरणा दिने विश्वास व्यक्त गरेका छन्।
शाकिबको अनुबन्धसँगै पोखरा एभेन्जर्सले उपाधि जित्ने लक्ष्यलाई थप बलियो बनाएको जनाएको छ। साथै, अन्तर्राष्ट्रिय स्तरका खेलाडीलाई नेपालमा ल्याएर नेपाली क्रिकेट समर्थकलाई उच्चस्तरीय क्रिकेट प्रत्यक्ष हेर्ने अवसर प्रदान गर्ने क्लबको प्रतिबद्धता पनि यस अनुबन्धले थप सशक्त बनाएको जनाएको छ।

