
नागढुंगा-सिस्नेखोला सुरुङमार्गको उद्घाटन

काठमाडौं । नागढुंगा–सिस्ने खोला सुरुङमार्गको औपचारिक उद्घाटन भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष तानाका अकिहिको लगायतको उपस्थितिमा सोमबार सुरुङमार्ग उद्घाटन गरिएको हो ।
पहिलो चरणमा आपत्कालीन प्रयोजनमा प्रयोग हुने सवारीले सुरुङ प्रयोग गर्न पाउँछन् । त्यसपछि चरणबद्ध ढङ्गले अन्य निजी र सार्वजनिक सवारीले सुरुङ मार्गको प्रयोग गरेर काठमाडौँ आउजाउ गर्न पाउने छन् ।
सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनलाई शुल्क पनि तोकिसकिएको छ । पैदलयात्री, दुईपांग्रे, तीनपांग्रे सवारी र नन–मोटोराइज्ड सवारीले सुरुङमार्ग प्रवेश पाउने छैनन् । डिजेल, पेट्रोल, ग्यासलगायत अत्यधिक प्रज्वलनशील पदार्थ र विस्फोटक पदार्थ बोकेका सवारीलाई सुरुङमार्गमा निषेध गरिएको छ । सुरुङमार्गमा शुल्क तिर्न मिल्ने गरी आरएफआईडी (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन) प्रविधिमा आधारित स्टिकरका रूपमा एन–ट्यागको व्यवस्था गरिएको छ । अहिलेलाई एक, दुई र पाँच हजार नगदको एन–ट्याग लिने व्यवस्था गरिएको छ ।
२०७६ कात्तिक ४ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङ निर्माणको शिलान्यास गरेका थिए । प्रारम्भिक सम्झौताअनुसार यसको निर्माण ४२ महिनामा सकिनुपर्ने थियो । कोभिड–१९, मुआब्जा विवादलगायत कारणले निर्माणमा ढिलाइ हुन पुग्यो ।
शिलान्यासको करिब ४ वर्षपछि २०८० साउन २२ मा ‘रेस्क्यु टनेल’को ब्रेक थ्रु गरिएको थियो । ‘रेस्क्यु टनेल’ ब्रेक थ्रुको १० महिनापछि मुख्य टनेल ब्रेक थ्रु गरियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले २०८१ असार ३ मा मुख्य टनेलको ब्रेक थ्रु गरेका थिए । मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर छ । यसबाहेक २.५५७ किलोमिटरको आपत्कालीन सुरुङ छ ।

