
एसियाली खेलकुद तयारीका लागि राहुल र तेन्जिङ थाइल्यान्ड प्रस्थान

काठमाडौं । नेपालको राष्ट्रिय गल्फ टोलीका खेलाडी राहुल विश्वकर्मा र तेन्जिङ छिरिङ प्रशिक्षणका लागि आइतबार थाइल्यान्ड प्रस्थान गरेका छन् । उनीहरूले एसियाकै प्रतिष्ठित एएसए गल्फ एकेडेमीमा मुख्य प्रशिक्षक क्रिस अस्सावापिमोनपोर्नको प्रशिक्षणमा अभ्यास गर्नेछन्। यो प्रशिक्षण आगामी २०औं एसियाली खेलकुदको तयारीको महत्वपूर्ण हिस्सा मानिएको छ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष विशाल श्रेष्ठले दुवै खेलाडीलाई बिदाइ गर्दै प्रशिक्षणको अवसरको भरपूर सदुपयोग गर्न आग्रह गरे। उनले आगामी एसियाली खेलकुदमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना पनि दिए।
नेपाल गल्फ संघ (एनजीए) को पहलमा सञ्चालन भएको राहुलको प्रशिक्षण कार्यक्रम राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटी (एनओसी) को आर्थिक सहयोगमा सम्भव भएको हो। एनजीएका अध्यक्ष टाशी घलेले राखेप र एनओसीप्रति आभार व्यक्त गर्दै ‘मिसन–२०२६’ कार्यक्रमअन्तर्गत विगत तीन वर्षदेखि एसियाली खेलकुदलाई लक्षित गरी तयारी भइरहेको र यस प्रशिक्षणले राहुललाई ठूलो फाइदा पुग्ने विश्वास व्यक्त गरे।
राहुल यस वर्ष जापानमा हुने २०औं एसियाली खेलकुदका लागि छनोट भएका तीन पुरूष नेपाली गल्फरमध्ये एक हुन्। उनले विश्वस्तरीय गल्फ एकेडेमीमा प्रशिक्षण पाउनु आफ्ना लागि गौरवको विषय भएको बताउँदै सर्ट गेम सुधारमा विशेष ध्यान दिने बताए । एसियाली खेलकुदमा बलिया प्रतिस्पर्धीबीच कट पार गर्नु आफ्नो पहिलो लक्ष्य रहेको उनको भनाइ छ ।
तेन्जिङ भने नेपाल गल्फ संघको अनुरोधमा प्रशिक्षणमा सहभागी भएका हुन् भने उनको सम्पूर्ण खर्च परिवारले व्यहोरेको छ। उनले प्रशिक्षणले आफ्नो खेल जीवनको अर्को चरणका लागि महत्वपूर्ण अनुभव दिने विश्वास व्यक्त गर्दै सर्ट गेम र स्कोरिङ क्षमतामा सुधार गर्ने लक्ष्य रहेको बताए। उनका तत्कालीन लक्ष्य नेपालमा प्रतिस्पर्धा जारी राख्दै भविष्यमा डीपी वल्र्ड पीजीटीआईमा खेल्ने रहेको छ।
एनजीएका अनुसार तेन्जिङका पिता तथा पूर्वराष्ट्रिय एमेच्योर गल्फर टासी छिरिङले राहुलको थाइल्यान्ड बसाइ खर्चमा समेत सहयोग गरेका छन्। साथै, राष्ट्रिय टोलीका अन्य सदस्य सदभाव आचार्य अमेरिका र व्यावसायिक गल्फर सुवाष तामाङ भारतमा प्रशिक्षणरत छन् भने महिला गल्फर तारा कार्की चित्रकार नेपालमै प्रशिक्षण गरिरहेकी छन्।

