

आईपीओमा आकर्षण कायमै,गार्डियन माइक्रो लाइफको आईपीओ मागभन्दा ११ गुणा बढीले भरे




काठमाडौं । लघु जीवन बीमा कम्पनी गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आफ्नो प्राथमिक साधारण शेयर (आईपीओ) जारी गरेको दुई दिन मात्रै पूरा भएको छ । सो अवधिमा लगानीकर्ताहरुले आईपीओका लागि आवेदन दिने क्रम आकर्षक रहेको कम्पनी स्रोतले जानकारी दिएको हो ।
करिब १५ लाख जनाले आईपिओको लागि आवेदन दिएको बेलामा कम्पनीले मागभन्दा पनि ११ गुणाले आवेदन पर्नुलाई एक त नयाँ कम्पनी प्रति लगानीकर्ताहरुको विश्वास र भरोसा हो भन्ने बुझिएको छ भने अर्को भनेको लामो समयसम्म नेपाल धितोपत्र बोर्डले आईपीओका लागि बाटो नखोलेकाले पनि धेरैजनाको आकर्षण भएको हुनसक्ने बुझिएको छ ।
सुरुवातमा वैदेशिक रोजगारीमा गएका कामदारहरुलाई लक्षित गरेर आईपिओको अवसर दिएको लघु जीवन बीमा कम्पनीले हाल पुस २१ गते आइपीओ बिक्री खुला गर्दै आफ्नो ७५ करोड पेड अफ क्यापिटलको ३० प्रतिशत रकमको बिक्री खुला गरेको हो । नयाँ लघु बीमाले पाउँने सो प्रावधान अनुसार हाल गार्डीयन माइक्रो लाइफले २२ करोड ५० लाख रुपैयाँको आइपीओ बजारमा ल्याएको हो।
यही पुस २४ गतेसम्म अन्तिम समय तोकेर खुलाइएको आईपीओमा माग भन्दा कम आवेदन परेको हकमा भने त्यसलाई लम्ब्याउँने तयारी समेत कम्पनी पक्षले गरेको थियो । हाल गार्डीयन माइक्रो लाइफको आईपीओमा आकर्षक आँकडा सहितको सहभागीता देखिएसँगै अन्य लघु बीमकहरु आईपिओ जारी गर्न थप उत्साहित देखिएका छन् ।