
२० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार ऋणपत्रमार्फत २० अर्ब रुपैयाँ बजारबाट झिक्न कागेको छ । नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘घ’ मार्फत उकत रकम संकलन गर्न लागिएको हो ।
यसको लागि राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार बैंक तथा वित्तिय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न मागेको थियो ।
बजारमा तरलता तत्काल घट्ने नदेखिएपछि राष्ट्र बैंकले फेरि ऋणपत्रमार्फत एक वर्षका लागि पैसा झिक्न लागेको हो । यसअघि सातामा २ दिन निक्षेप संकलन उपकरणमार्फत बजारबाट पैसा झिक्दै आएको छ ।
राष्ट्र बैंकले जारी गर्ने ऋणपत्रको ब्याजदर बोलकबोलमार्फत निर्धारण हुनेछ भने प्रत्येक ६\६ महिनामा ब्याज भुक्तानी गरिनेछ । एक वर्षपछि ऋणपत्रको सावाँ भुक्तानी हुनेछ । ऋणपत्रमा नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले (काउन्टरपार्टी) मात्रै खरिद गर्न पाउनेछन् ।
लगानीकर्ताले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी ऋणपत्रमा बोलकबोल गर्न सक्नेछन् । यो ऋणपत्र धितो राखी बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन पनि प्रयोग गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँट गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठुलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्मको बिन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा कम बोलवालालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने छ ।

