
बाबर आजम पाकिस्तानको टेस्ट कप्तान नियुक्त, शान मसुद बर्खास्त

काठमाडाैं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले शान मसुदलाई टेस्ट कप्तानबाट हटाउँदै पुन: बाबर आजमलाई नेतृत्व सुम्पिएको छ । वेस्ट इन्डिज विरुद्ध यसै महिना सुरु हुने दुई खेलको टेस्ट शृङ्खलाबाट बाबरले दोस्रोपटक टोलीको कप्तानी सम्हाल्नेछन् ।
मसुदको कप्तानीमा पाकिस्तानले ऐतिहासिक रूपमै खराब प्रदर्शन गरेपछि बोर्डले यो निर्णय लिएको हो । करिब तीन वर्षअघि कप्तान नियुक्त भएका मसुदले १६ टेस्टमा पाकिस्तानको नेतृत्व गरेका थिए, जसमा टोलीले १२ खेलमा हार बेहोरेको थियो ।
टेस्ट इतिहासमै आफ्नो सुरुवाती १६ खेलमध्ये १२ खेल हार्ने उनी पहिलो कप्तान बनेका छन् । पाकिस्तानले पछिल्ला लगातार सात टेस्ट खेल हारेको छ, जुन टोलीको इतिहासकै सबैभन्दा खराब प्रदर्शनको बराबरी हो ।
पाकिस्तानका ‘हाई-परफर्मेन्स’ निर्देशक आकिब जावेदले टोलीले जित्ने स्थितिमा रहेका खेलहरू पनि लगातार गुमाउनु र नेतृत्वमा देखिएको कमजोरीका कारण कप्तान परिवर्तन गर्नुपरेको बताएका छन् । उनले भने, ‘शानको कप्तानीमा धेरै खेलहरू नजिक पुगेर पनि हारियो । दक्षिण अफ्रिका र वेस्ट इन्डिज विरुद्धका खेलहरू हाम्रै हातमा थिए, तर अन्तिममा हामीले गुमायौँ । खेल टुङ्ग्याउने जिम्मेवारी कप्तानको पनि हो ।’ जावेदले ओभर रेट कायम राख्न र सही समयमा डीआरएस निर्णय लिन मसुद चुकेको पनि उल्लेख गरे ।
मसुदको नेतृत्वमा पाकिस्तानले अष्ट्रेलियासँग ३-० र बंगलादेशसँग घरेलु मैदानमै २-० को लज्जास्पद हार बेहोरेको थियो । उनको कप्तानीमा पाकिस्तानले सात शृङ्खलामध्ये इंग्ल्याण्ड विरुद्धको एक शृङ्खला मात्र जित्न सक्यो । अहिले पाकिस्तान विश्व टेस्ट च्याम्पियनसिपको तालिकामा पुछारमा छ ।
यद्यपि, कप्तानको रूपमा मसुदको व्यक्तिगत ब्याटिङ प्रदर्शन भने सुधारिएको थियो । कप्तान हुनुअघि २८.५१ को औसत रहेका उनको कप्तानी सम्हालेपछि औसत ३४.०६ पुगेको थियो । टोलीबाट हटाइए पनि उनले ब्याटरको रूपमा भने स्थान सुरक्षित राखेका छन् ।

