
अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा, केप भर्डे पराजित

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा केप भर्डेविरुद्ध संघर्षपूर्ण जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । मियामी स्टेडियममा भएको खेलमा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो ।
दोस्रोपटक बराबरी गोल फर्काएको केप भर्डे आत्मघाती गोलका कारण पराजित हुन पुग्यो । २९ औं मिनेटका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर, ५९ औं मिनेटमाडेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई बराबरीमा फर्काएका थिए ।
निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दोस्रो मिनेटमै अर्जेन्टिनाले अग्रता लियो । अर्जेन्टिनाका लागि लिसान्ड्रो मार्टिनेजले अग्रता दिलाए । त्यसको ११ मिनेटपछि सिड्नी लोप्स क्याब्रलले उत्कृष्ट गोल गर्दै केड भर्डेलाई दोस्रोपटक बराबरीमा फर्काएका थिए । तर, १११ औं मिनेटमा डाइनी बोर्जेसले आत्मघाती गोल गर्दा केप भर्डे पराजित हुन पुग्यो ।

