
किभमा रुसको भीषण हवाई आक्रमण, मृत्यु हुनेको संख्या २७ पुग्यो

किभ । रुसले बिहीबार बिहानै युक्रेनको राजधानी किभमा सयौँ ड्रोन र दर्जनौँ मिसाइल प्रहार गरेको छ। यस वर्षकै सबैभन्दा घातक मानिएको यस आक्रमणमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन्।
आक्रमणका कारण करिब १३० वटा भवनमा क्षति पुगेको छ। मध्यरातभरि भएका शृङ्खलाबद्ध विस्फोटका कारण किभ सहर थर्किएको थियो भने हजारौँ बासिन्दा ज्यान जोगाउन बम सेल्टर र भूमिगत मेट्रो स्टेसनतर्फ भागेका थिए। आक्रमणपछि आकाशमा धुवाँको ठुलो मुस्लो देखिएको थियो।
राजधानीको सैन्य प्रशासनका प्रमुख तैमुर त्काचेन्कोले टेलिग्राममार्फत अस्पतालमा एक घाइतेको मृत्यु भएपछि मृतकको सङ्ख्या २७ पुगेको र ९१ जना घाइते भएको जानकारी दिए। भग्नावशेषमुनि फसेका मानिसहरूको खोजीमा उद्धार टोलीहरूले रातभरि काम गरिरहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्ने चेतावनी उनले दिएका थिए।
नीपर नदीको देब्रे किनारमा रहेको पूर्वी उपनगरको एक ठाउँबाट पाँचवटा शव निकालिएको र आठ जना अझै बेपत्ता रहेको उनले बताए। त्काचेन्कोले सबै भग्नावशेषहरू सफा नगरेसम्म उद्धार टोलीहरूले निरन्तर काम गर्ने भन्दै ‘दुर्भाग्यवश, अझै धेरै पीडितहरू फेला पर्न सक्ने’ उल्लेख गरे।
पाँचौँ वर्षमा प्रवेश गरेको यस युद्धमा राजधानी किभभरि भएको यो विनाशको मापन र विस्तार अभूतपूर्व जस्तै छ। यसअघि गत मे महिनामा किभमा भएको आक्रमणमा २४ जनाको मृत्यु भएको थियो। आयरल्यान्डको भ्रमण छोट्काएर हतारहतार स्वदेश फर्किएका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आधा भत्किएको ९ तल्ले आवासीय भवनको निरीक्षण गरे।
उनले यस विनाशको आंशिक दोष सहयोगी राष्ट्रहरूले प्रतिबद्धता अनुसार वायु रक्षा प्रणाली उपलब्ध गराउन नसकेकोमाथि थुपारे। निकै थकित र निराश देखिएका जेलेन्स्कीले भने, ‘यदि हाम्रा साझेदारहरूले आफ्ना वाचाहरू समयमै पूरा गरेको भए, मलाई लाग्छ हामीले आज धेरै घर र जीवनहरू बचाउन सक्थ्यौँ । हामी हाम्रा साझेदारहरूसँग जे सहमति भएको हो, त्यही मात्र गर्न भनिरहेका छौँ, त्योभन्दा बढी मागेका पनि छैनौँ’ ।
पछि आफ्नो रात्रिकालीन भिडियो सम्बोधनमा जेलेन्स्कीले अर्को हप्ता टर्कीमा हुने नेटो शिखर सम्मेलनको ‘एउटा मुख्य परिणाम’ वायु रक्षा प्रणालीको मुद्दा हुने बताए। उनले युरोपेली वायु रक्षा प्रणालीको विकासका लागि आफ्नो आह्वानलाई पुनः दोहोर्याउँदै भने, ‘यदि, वास्तवमै सहयोगीहरूका लागि नेटोको अझै केही अर्थ छ भने युरोपसँग रुसी ब्यालिस्टिक मिसाइलहरू लगायतका सबै प्रकारका खतराहरू विरुद्ध रक्षा गर्न आफ्नै पर्याप्त क्षमता हुनुपर्छ ।’
युक्रेनी वायुसेनाका अनुसार रुसले रातभरमा ७४ वटा मिसाइल र ४९६ वटा ड्रोन प्रहार गरेको थियो। वायुसेनाका प्रवक्ता युरी इह्नातले ब्यालिस्टिक मिसाइलहरूको सङ्ख्या असामान्य रूपमा बढी भएको र तिनलाई रोक्ने दर कम रहेको बताए। युक्रेनले हालैका महिनाहरूमा प्याट्रियट मिसाइलहरूको अभाव झेल्दै आएको छ।
अर्कोतर्फ, रुसी रक्षा मन्त्रालयले टेलिग्राम पोस्टमा लामो दूरीका र सटिक निशाना लगाउने हवाई, जमिन र समुद्री हतियार तथा ड्रोनहरूको प्रयोग गरी गरिएको ‘ठुलो आक्रमण’ ले किभ र अन्य स्थानहरूमा रहेका सैन्य तथा ऊर्जा सुविधाहरू एवं विमानस्थलहरूमा प्रहार गरेको जनाएको छ।
मस्कोले यो आक्रमण रुसमाथि युक्रेनले गरेको ड्रोन हमलाको बदला भएको बताएको छ। हालैका हप्ताहरूमा रुसको आन्तरिक इन्धन आपूर्तिमा आक्रमण तीव्र पारेको किभले रातभरमा रुसको निज्नी नोभगोरोड क्षेत्रमा रहेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेको जनाएको छ, जहाँका गभर्नरले एक औद्योगिक केन्द्रमा भएको आक्रमणमा एक जनाको मृत्यु भएको जानकारी दिएका छन्। क्रेमलिनले रुसी सैन्य कमाण्डरहरूले राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुसी आक्रमणबारे जानकारी गराएको र मस्कोले आफ्नो युद्धको उद्देश्य प्राप्त गर्न दबाब बढाउने बताएको छ।
किभका मेयर भिटाली क्लिट्स्कोले शुक्रबारका लागि किभमा शोक दिवसको घोषणा गरेका छन्। करिब ३० लाख जनसङ्ख्या भएको यस सहरका केही भवनहरूमा ठुलो क्षति पुगेको उनले बताए। युक्रेनी रेडक्रसले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै किभमा रहेको आफ्नो मानवीय सहायता गोदाम ध्वस्त भएको जनाएको छ र भत्किएको भवनको तस्बिर सार्वजनिक गरेको छ। गोदाम नष्ट हुँदा ३ लाख २० हजार राहत सामग्री नष्ट भएको र यसले ‘युक्रेनभरिको आपत्कालीन उद्धार र मानवीय कार्यलाई असर पारेको’ बताइएको छ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले पनि यस आक्रमणको निन्दा गरेका छन्। उनका प्रवक्ता स्टेफान दुजारिकले यी आक्रमणहरूलाई जनघनत्व भएका क्षेत्रहरूमा गरिने ‘घातक शृङ्खला’ को एक हिस्साका रूपमा वर्णन गरे।
जेलेन्स्कीले पुटिनसँग शान्ति वार्ताको प्रस्ताव राखेका छन्, जसलाई क्रेमलिनका नेताले अस्वीकार गरिसकेका छन्। जेलेन्स्कीले विगत दुई दिनमा युक्रेनी र अमेरिकी वार्ताकारहरूबिच कुराकानी भएको र नेटो शिखर सम्मेलनको साइडलाइनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट हुने आशा व्यक्त गरे।

