
इरान र अमेरिका फेरि एक अर्कामाथि आक्रमणमा

काठमाडौं । गएको हप्ता अन्तरिम शान्ति सम्झौतामा हस्ताक्षर गरेका इरान र अमेरिकाले फेरि एक अर्कामाथि आक्रमण गरेका छन् । दुवै पक्षले एकअर्कामाथि सम्झौता उल्लंघनको आरोप लगाएका समाचार संस्था रोयटर्सले जनाएको छ ।
आज इरानको विदेश मन्त्रालयले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य अखडाहरूमा प्रत्याक्रमण गरिएको जनाएको छ । आफ्नो दक्षिणी तटमा भएको अमेरिकी हवाई आक्रमणको जवाफमा यो कदम चालिएको इरानको दाबी छ । बहराइनले पनि इरानले आफ्नो देशमा ड्रोन आक्रमण गरेको भन्दै कडा निन्दा गरेको छ । यसअघि हिजो अमेरिकाले इरानका मिसाइल तथा ड्रोन स्थलहरू र समुद्री क्षेत्रका राडार केन्द्रहरूमा आक्रमण गरेको थियो ।
बिहीबार हर्मुज जलमार्गमा एक कार्गो जहाजमाथि भएको आक्रमणको जवाफमा यो कारबाही गरेको अमेरिकाको दावी छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्गो जहाजमाथिको आक्रमणलाई शान्ति सम्झौताको उल्लंघन भनेका छन् । उपराष्ट्रपति जेडी भान्सले सामाजिक सञ्जालमार्फत इरानलाई संवादमा आउन आग्रह गर्दै हिंसाको जवाफ हिंसाबाटै दिइने बताए ।
तनाव बढेपछि हर्मुजमा अलपत्र परेका जहाजहरूको उद्धारमा खटिएको अन्तर्राष्ट्रिय समुद्री संगठन आईएमओले उद्धार कार्य स्थगित गरेको छ । आईएमओका महासचिवका अनुसार अहिलेसम्म झण्डै एक सय पन्ध्र वटा जहाज बाहिर निकालिएका छन् भने झन्डै पाँच सय जहाज अझै हर्मुजमै अलपत्र छन् । अमेरिका र इरानबीच हर्मुज पूर्ण रूपमा खुला गर्ने र युरेनियम भण्डारको भविष्यबारे वार्ता चलिरहेको छ । अन्तरिम सम्झौताअनुसार यी सबै मुद्दा ६० दिनभित्र टुंग्याउनुपर्ने छ ।

