
भारतविरुद्ध आयरल्यान्डको ऐतिहासिक जित

काठमाडौं । आयरल्यान्डले भारतविरुद्ध इतिहास रच्दै पहिलो पटक कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट ढाँचामा जित दर्ता गरेको छ। शुक्रबार भएको टि ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा आयरल्यान्डले भारतलाई ३४ रनले पराजित गर्दै ऐतिहासिक सफलता हासिल गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८२ रन बनायो। कप्तान लोर्कान टकरले ५० रनको अर्धशतकीय इनिङ्स खेले भने ग्यारेथ डेलानी ४९ रन बनाए। भारतका हर्षित रानाले ३ विकेट लिए।
१ सय ८३ रनको लक्ष्य पछ्याएको भारत १८.३ ओभरमै १ सय ४८ रनमा समेटियो। अभिषेक शर्माले १९ बलमा अर्धशतक पूरा गर्दै ५० रन बनाए । शिवम दुबेले २५ रन जोडे। अन्य ब्याटरले साथ दिन सकेनन्।
आयरल्यान्डका डेब्यु खेलाडी म्याथ्यु होलार्डले ३ विकेट लिए भने जय मून्द्राले २ विकेट हात पारे। चोटका बाबजुद बलिङ गरेका म्याथ्यु हम्फ्रिजले पनि ३ विकेट लिएर भारतको ब्याटिङ धराशायी बनाए।
भारतले आक्रामक सुरुआत गरे पनि सञ्जु स्यामसन पहिलो बलमै आउट भए। त्यसपछि होलार्डले इशान किशन र कप्तान श्रेयस अय्यरलाई आउट गर्दै भारतलाई दबाबमा पारे। पावरप्ले सकिँदा भारत ३ विकेट गुमाएर ६८ रनमा बनायो।
अभिषेक आउट भएपछि आयरल्यान्डका स्पिनरहरूले खेलमा पूर्ण नियन्त्रण जमाए। तिलक वर्मा, वासिङ्टन सुन्दर, शिवम दुबे, अक्षर पटेल, हर्षित राना र अर्शदीप सिंह क्रमशः आउट भएपछि भारत ३४ रनले पराजित भयो।
यसअघि आयरल्यान्डले पनि उत्कृष्ट सुरुआत गरेको थियो। कप्तान टकर र डेलानीले चौथो विकेटका लागि ६४ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पुर्याए।
अन्तिम ओभरहरूमा जर्ज डकरेल र डेलानीले आक्रामक ब्याटिङ गरेपछि आयरल्यान्डले प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो।
भारतका लागि अक्षर पटेलले २ विकेट लिए। तर ब्याटिङमा निराशाजनक प्रदर्शन गरेपछि श्रेयस अय्यरको कप्तानी यात्रा हारबाट सुरु भएको छ।

