
नेपाल माइक्रो इन्स्योरेन्समा नयाँ नेतृत्व: अध्यक्ष, सञ्चालक तथा कायममुकायम प्रमुख कार्यकारी अधिकृत नियुक्त

काठमाडौं, असार २६। नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएमआईसी) ले संस्थागत सुशासन, व्यवसायिक निरन्तरता तथा नियामकीय अनुपालनलाई उच्च प्राथमिकतामा राख्दै कम्पनीको नेतृत्व तहमा नयाँ अध्यक्ष, सञ्चालकहरू तथा कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा श्री नारद कुमार लुइटेल नियुक्त हुनुभएको छ। त्यसैगरी सञ्चालकहरूमा श्री दामोदर सत्याल, चार्टर्ड एकाउन्टेन्ट (सीए) श्री अशोक प्रसाद साह तथा श्री दीपक कुमार मिश्र नियुक्त हुनुभएको छ।
यसैगरी, कम्पनीका डेपुटी प्रमुख कार्यकारी अधिकृत (DCEO) श्री अनिल राज गिरी लाई कम्पनीको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (Acting CEO) को जिम्मेवारी प्रदान गरिएको छ।
नेपालका पाँचवटै माइक्रो इन्स्योरेन्स कम्पनीका सञ्चालक समिति तथा प्रमुख कार्यकारी अधिकृतहरू निलम्बनमा परेपछि सिर्जित विशेष परिस्थितिमा नेपाल बीमा प्राधिकरण (NIA) को निर्देशन तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गर्दै अत्यन्त छोटो अवधिमै रिक्त रहेका सम्पूर्ण नेतृत्वदायी पदहरूमा नियुक्ति सम्पन्न गर्ने नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी पहिलो माइक्रो इन्स्योरेन्स कम्पनी बनेको छ।
यो उपलब्धिले कम्पनीको सक्षम व्यवस्थापन, प्रभावकारी निर्णय क्षमता तथा सुशासनप्रतिको दृढ प्रतिबद्धतालाई उजागर गरेको छ। चुनौतीपूर्ण परिस्थितिमा समेत कम्पनीले आफ्नो संस्थागत स्थायित्व, व्यवसायिक निरन्तरता तथा सेवाग्राहीप्रतिको उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै शीघ्र निर्णय प्रक्रिया पूरा गर्नु कम्पनीको व्यवस्थापकीय दक्षताको महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको छ।
नेपालको पहिलो माइक्रो इन्स्योरेन्स कम्पनीको रूपमा स्थापित नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले ग्रामीण तथा न्यून आय भएका नागरिकसम्म बीमा सेवाको पहुँच विस्तार गर्दै वित्तीय समावेशीकरणलाई प्रवर्द्धन गर्ने आफ्नो लक्ष्यलाई निरन्तर अगाडि बढाइरहेको छ। नयाँ नेतृत्वको आगमनसँगै कम्पनीले सेवा विस्तार, सुशासन, डिजिटल रूपान्तरण, नवप्रवर्तन तथा संस्थागत विकासलाई थप प्रभावकारी बनाउँदै बीमित, शेयरधनी, कर्मचारी तथा सम्पूर्ण सरोकारवालाको विश्वासलाई अझ सुदृढ बनाउने विश्वास लिएको छ।
कम्पनीले नवनियुक्त अध्यक्ष, सञ्चालकहरू तथा कायममुकायम प्रमुख कार्यकारी अधिकृतलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उहाँहरूको नेतृत्वमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेको छ।

