
दही-चिउरा प्रवर्द्धन तथा उपभोग कार्यक्रम सम्पन्न, स्वदेशी उत्पादनको प्रयोगमार्फत किसान र उद्योगीको मनोबल बढाउन जोड

काठमाडौं। नेपाल डेरी एसोसिएसनको आयोजनामा २३औँ राष्ट्रिय धान दिवस तथा असार १५ (रोपाइँ महोत्सव-२०८३) को अवसरमा “जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि” भन्ने राष्ट्रिय नारालाई आत्मसात् गर्दै “दही-चिउरा खाऔँ, धान दिवस मनाऔँ; स्वदेशी उत्पादन प्रयोग गरी किसान र उद्योगीको मनोबल बढाऔँ” भन्ने मूल नारासहित आयोजित “दही-चिउरा प्रवर्द्धन तथा उपभोग कार्यक्रम-२०८३” काठमाडौंको थापागाउँस्थित गाउँघर चौतारी बजारमा सम्पन्न भएको छ।
हाईलाइफ एग्री एण्ड फुड इण्डष्ट्रिज लिमिटेड, नेपाल डेरी एसोसिएसन बागमती प्रदेश, नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी सङ्घ र गाउँघर चौतारी बजार थापा गाउँको सहकार्य तथा विभिन्न सरकारी, सहकारी, निजी क्षेत्र एवं अन्य सरोकारवाला निकायहरूको सहभागितामा आयोजित उक्त कार्यक्रम नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालको सभापतित्व एवं नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि श्रेष्ठले उपस्थित मध्ये ज्येष्ठ सदस्य तथा नेपाल कृषि महासंघका अध्यक्ष शिवसुन्दर श्रेष्ठलाई दही- चिउरा सेवन गराई नयाँ शैलीले गरेका थिए। नेपाली मौलिक खाद्य संस्कृति, कृषि उत्पादन तथा दुग्धजन्य पदार्थको उपभोग प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा विभिन्न सरकारी निकायका प्रतिनिधि, सहकारीकर्मी, निजी क्षेत्रका उद्यमी-व्यवसायी, दुग्ध उत्पादक किसान, डेरी उद्योगका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष नरेशलाल श्रेष्ठले यस्ता किसिमका कार्यक्रमले नेपाली संस्कृति, हाम्रो मौलिकता र परम्पराको जगेर्ना गर्ने र स्वदेशी उत्पादनको खपतले स्वदेशी मुद्रा बाहिरिनबाट बच्ने र यहाँ स्वदेशका उद्योग र किसानको सम्मान समेत हुने कुरा बताउँदै उनले आफू होटल व्यवसायी भएको हुँदा आफ्नो होटेलमा विदेशी पाहुनालाई मेनुमै राखी मोहीद्वारा विदेशी पाहुनालैइ स्वागत गर्ने र अरु साथीहरुलाई पनि मोही मेनुमा राख्न अनुरोध गर्ने बताए । नेपाल डेरी एसोसिएसनले हरेक वर्ष गरेका यस्ता कार्यक्रममा आफ्नो उपस्थिति रहेको र यस्ता कार्यक्रमले सम्पूर्ण डेरी उद्योगीहरूको उत्पादनको खपत बढ्ने कुरामा जोड दिँदै एसोसिएसनले गरेको कार्यको प्रशंसा गर्दै नेपाल उद्योग वाणिज्य महासंघ सदैव साथ रहेको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्यहरू लिलेन्द्र प्रसाद प्रधान, पशुपतिदेव पाण्डे, राजकुमार कार्की, सुरज बन्जाडे, बिदुर धमला र सुनिता नोमाफोकी, बस्तुगत तर्फबाट मनोज चापागाईं र देवेन्द्र भक्त श्रेष्ठले आफ्नो भनाई राखेका थिए। बोल्ने क्रममा वक्ताहरूले कृषि तथा दुग्ध क्षेत्रबीचको अन्तरसम्बन्ध, राष्ट्रिय अर्थतन्त्रमा कृषक र दुग्ध व्यवसायीहरूको योगदान तथा स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याएका थिए। उनीहरूले वर्तमान समयमा दुग्ध क्षेत्रले भोगिरहेका चुनौतीहरू, विशेषगरी दूधको उत्पादन, बजारीकरण, बिक्री वितरण, भुक्तानी व्यवस्थापन तथा उपभोग अभिवृद्धिका विषयमा समेत धारणा व्यक्त गरेका थिए।
राष्ट्रिय दुग्ध विकास बोर्डको तर्फबाट बोल्ने क्रममा शंकर अधिकारीले नेपाल डेरी एसोसिएसनले कार्यक्रम मार्फत स्थानीय तथा मौलिक खाद्य संस्कृतिको संरक्षण, दही-चिउराको उपभोग प्रवर्द्धन, दुग्धजन्य पदार्थको माग वृद्धि तथा किसान र उद्योगीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले राखिएको यो कार्यक्रम अत्यन्तै महत्त्वपूर्ण भएको र बोर्डले पनि यस्ता कार्यक्रममा निरन्तर साथ दिने बताए ।
नेपाल कृषि महासङ्घका अध्यक्ष शिवसुन्दर श्रेष्ठले नेपाल डेरी एसोसिएसनले चलाएको मोही अभियान अत्यन्त सफल भएको र अब आउने दिनमा पनि यसरी नै अन्य प्रोडक्टको पनि बजार प्रवर्तन गर्नुपर्ने र यस्ता कार्यमा आफ्नो संस्थाको सधैं साथ रहने बताए । यस अवसरमा आयोजक संस्थाले दुग्ध क्षेत्रको वर्तमान अवस्था, अवसर तथा चुनौती, उत्पादन वृद्धि, बजार व्यवस्थापन, जलवायुमैत्री कृषि प्रविधिको प्रयोग तथा दुग्धजन्य पदार्थको उपभोग विस्तार सम्बन्धी विषय समेटिएको प्रेस विज्ञप्ति समेत जारी गरेको थियो भने उपस्थित अतिथिहरूलाई दूध तथा दुग्ध पदार्थ र हाईलाइफ चिउरा समावेश गरिएको मायाको चिनो प्रदान गरिएको थियो भने कार्यक्रमको अन्त्यमा गाउँघर चौतारी बजारमा बनाइएको मौलिकद्वारा उपस्थित सबैलाई दही चिउरा सेवन गराइएको थियो।

