
विष्णु पौडेल पक्राउको विषयमा एमालेले राजनीतिक प्रतिवाद गर्ने

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेको विषयमा राजनीतिक प्रतिवाद गर्ने भएको छ । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई हिजो बेलुका सुर्खेतबाट पक्राउ गरिएको हो । पौडेल पक्राउ परे लगत्तै एमालेले विज्ञप्ति निकालेर विरोधसहित यसको राजनीतिक प्रतिवाद गर्ने जनाएको छ ।
एमालेले पौडेलको पक्राउ सस्तो लोकप्रियता र स्टण्ट भनेको छ । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीद्वारा हस्ताक्षरित विज्ञप्तिमा पौडेलको गिरफ्तारीलाई गैरकानुनी, बदनियतपूर्ण र राजनीतिक प्रतिशोधबाट प्रेरित कदमका रूपमा उल्लेख गरिएको छ । साथै एमालेले वर्तमान सरकार सर्वसत्तावाद र अधिनायकवादको बाटोतर्फ उन्मुख भएको दाबी गर्दै विपक्षी दलका नेतामाथि लक्षित प्रतिशोधपूर्ण गतिविधि तत्काल बन्द गर्न चेतावनी दिएको छ ।

