
थिति बसाउने नाममा संविधान बाहिर नजान रास्वपालाई वर्षमान पुनको सुझाव

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ले थिति बसाउने नाममा चालिने सबै कदम विधिसम्मत र संविधानको परिधिभित्र रहेर अघि बढाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सुझाव दिएका छन्।
चितवनमा आइतबारदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी को पहिलो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेता पुनले नयाँ पुस्ताको राजनीतिले जनतामा आशा जगाएको भए पनि पद्धति र संविधानभन्दा बाहिर जाने प्रवृत्तिप्रति सचेत रहन आग्रह गरे।
उनले नेपाली समाजको रूपान्तरणको यात्रा सहज नभएको उल्लेख गर्दै ठूलो बलिदान र सङ्घर्षको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको स्मरण गराए। साथै, नेकपाका संयोजक पुष्पकमल दाहाल स्वास्थ्यका कारण कार्यक्रममा उपस्थित हुन नसकेको जानकारी दिँदै अध्यक्षका तर्फबाट महाधिवेशनको सफलताको शुभकामना व्यक्त गरे।
नेता पुनले रास्वपा र नेकपाबीच राजनीतिक पृष्ठभूमि तथा कार्यशैली फरक भए पनि सुशासन र समाज रूपान्तरणका एजेन्डामा धेरै समानता रहेको बताए। विगतमा दुवै दलबीच विभिन्न विषयमा सहकार्य भएको उल्लेख गर्दै उनले सुशासन र थिति बसाउने अभियानमा आफ्नो दलको समर्थन रहने बताए।
तर, उनले थिति बसाउने नाममा गरिने कुनै पनि पहल संविधान र कानुनी प्रक्रियाभन्दा बाहिर जान नहुनेमा जोड दिए। साथै, महाधिवेशनमार्फत रास्वपाले गणतन्त्रबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने आवश्यकता पनि औँल्याए।
राजनीतिमा बहुमत प्राप्त हुँदा विनम्रता आवश्यक हुने आफ्नो दलको अनुभव सुनाउँदै उनले नयाँ पुस्ताको सक्रिय सहभागिताले नेपाली राजनीतिमा सकारात्मक ऊर्जा थपेको बताए। देशभरका नागरिकले रास्वपाको महाधिवेशनबाट कस्तो नेतृत्व, विचार र कार्यदिशा तय हुन्छ भन्ने विषयलाई चासोका साथ हेरिरहेको उल्लेख गर्दै उनले सफल महाधिवेशनको शुभकामना व्यक्त गरे।

