
‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ सम्पन्न, देशभरका उत्कृष्ट संस्थागत र सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरु सम्मानित

काठमाडौं । केन्द्रबिन्दु अनलाइन मिडिया प्रालिको आयोजनामा ‘चौथो केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८३’ भव्य रूपमा सम्पन्न भएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा. ओजश्वी शेरचनको प्रमुख आतिथ्यमा मंगलबार ललितपुरस्थित ‘द प्लाजा’ मा आयोजित विशेष समारोहका बीच शैक्षिक क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै अब्बल साबित भएका संस्थागत तथा सामुदायिक शैक्षिक संस्था र व्यक्तित्वहरूलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न भएको हो ।
अवार्ड वितरणअघि एस इन्स्टिच्युट अफ म्यानेजमेन्टद्वारा प्रायोजित यस कार्यक्रममा शिक्षा क्षेत्रको वर्तमान अवस्था, चुनौती र आगामी दिशाबारे दुईवटा महत्त्वपूर्ण प्यानल डिस्कसन समेत सञ्चालन गरिएको थियो । कार्यक्रमको पहिलो सत्रमा ‘शिक्षामा निजी क्षेत्रको लगानी’ विषयमा केन्द्रित रहेर गहन छलफल भएको थियो । उक्त सत्रको सुरुवातमा राष्ट्रिय परीक्षा बोर्डका पूर्वअध्यक्ष एवं काठमाडौं विश्वविद्यालयमा आबद्ध प्राज्ञिक व्यक्तित्व महाश्रम शर्मा र पूर्व स्वास्थ्य राज्यमन्त्री एवं हिसान तथा प्याब्सनका पूर्वअध्यक्ष उमेश श्रेष्ठले की—नोट स्पिकरका रूपमा आफ्नो धारणा राखेका थिए । श्रेष्ठ लिटिल एन्जल्स एजुकेशन ग्रुपका संस्थागत अध्यक्ष समेत हुन् । उनीहरूले शिक्षामा निजी क्षेत्रले पुर्याएको योगदानलाई राज्यले नजरअन्दाज गर्न नहुने र लगानी मैत्री वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।
लगत्तै अधिवक्ता एवं इन्जिनियर उमेश रुपाखेतीको मोडरेटरमा सुरु भएको प्यानल डिस्कसनमा शिक्षा मन्त्रालयको योजना तथा अनुगमन शाखाका सहसचिव एवं प्रवक्ता शिव कुमार सापकोटा, हिसानका अध्यक्ष तथा हिमालयन ह्वाइट हाउस आईबी वर्ल्ड स्कुलका निर्देशक युवराज शर्मा, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र एस इन्स्टिच्युट अफ म्यानेजमेन्टका प्रिन्सिपल तथा डाइरेक्टर डा. आशिष तिवारी प्यानलिस्टका रूपमा सहभागी थिए । छलफलका क्रममा वक्ताहरूले शिक्षामा निजी क्षेत्रको लगानीको सुरक्षा, बैंक तथा वित्तीय क्षेत्रको भूमिका र सरकारी नीतिहरूबीचको तादाम्यताका विषयमा आफ्ना तार्किक भनाइहरू राखेका थिए ।
यसैगरी कार्यक्रमको दोस्रो प्यानल डिस्कसन ‘के नेपाललाई एजुकेसन हब बनाउन सकिन्छ ?’ भन्ने विषयमा केन्द्रित रहेको थियो । उक्त सत्रको मोडरेटरको भूमिका इक्यानका निवर्तमान अध्यक्ष शेषराज भट्टराईले निभाएका थिए । यस सत्रमा शिक्षा, स्वास्थ्य तथा सूचना समितिका सभापति डा. ओजश्वी शेरचन, प्याब्सनका पूर्वअध्यक्ष एवं रेडियन्ट स्कुलका संस्थापक डिके ढुंगाना र गेट कलेजका संस्थापक अध्यक्ष खेम लकाईले प्यानलिस्टका रूपमा बहस गरेका थिए । बहसका क्रममा सहभागीहरूले नेपालमा उच्च शिक्षा र प्राविधिक शिक्षाको जग बलियो बनाउँदै विदेशी विद्यार्थीहरूलाई समेत आकर्षित गर्न सकिने प्रचुर सम्भावना औंल्याएका थिए । यसका लागि नीतिगत सुधार र व्यावहारिक शिक्षा आजको आवश्यकता रहेको उनीहरूको निष्कर्ष थियो ।
प्यानल डिस्कसनअन्तर्गत कार्यक्रममा उपस्थित सहभागीहरूले शिक्षाको गुणस्तर र निजी—सार्वजनिक साझेदारीका विषयमा प्यानलिस्टहरूलाई प्रत्यक्ष प्रश्नहरू राखेका थिए । समग्रमा, अवार्ड कार्यक्रमले उत्कृष्टहरूलाई प्रोत्साहन मात्र दिएन, नेपालको शिक्षा नीति सुधार्नका लागि एउटा बलियो बौद्धिक बहसको थलो समेत प्रदान गर्यो ।
कार्यक्रममा शैक्षिक जगतलाई उज्यालो बनाउन र गुणस्तरीय शिक्षाको जग बसाल्न जीवन पर्यन्त खटिएका दुई सिद्धहस्त व्यक्तित्वहरूलाई यस वर्षको ‘शिक्षा क्षेत्रका लागि प्रोज्ज्वल नक्षत्र २०८३’ उपाधिबाट विभूषित गरिएको छ । सम्मानित हुनेहरूमा सुदूरपश्चिम विश्वविद्यालयका प्रथम संस्थापक उपकुलपति प्रा.डा. जयराज अवस्थी र प्रसादी एकेडेमीका प्रमुख विक्रम राई रहेका छन् ।
प्रा.डा. जयराज अवस्थीः सुदूरपश्चिमको विकट जिल्ला दार्चुलामा जन्मिएर नेपाली उच्च शिक्षाको सर्वोच्च शिखरसम्म पुगेका प्रा.डा. जयराज अवस्थीको प्राज्ञिक यात्रा आफैँमा एउटा जीवन्त प्रेरणा हो। त्रिभुवन विश्वविद्यालयमा लामो समयसम्म अङ्ग्रेजी विषयको प्राध्यापन तथा अनुसन्धानमा जीवन व्यतीत गरेका डा. अवस्थीको गुन नेपाली शिक्षा जगतले कहिल्यै भुल्न सक्दैन। कक्षाकोठाको घेराभन्दा माथि उठेर उनले सुदूरपश्चिम विश्वविद्यालयको प्रथम संस्थापक उपकुलपतिका रूपमा खेलेको ऐतिहासिक भूमिका अतुलनीय छ।
विक्रम राईः विगत २९ वर्षदेखि निरन्तर रूपमा शिक्षा क्षेत्रमा अहोरात्र खटिएका प्रसादी एकेडेमीका कलेज प्रमुख राई माध्यमिक शिक्षाका मियो हुन् । ‘एकल कार्यक्रम, एकल व्यवस्थापन’को नीति अपनाउँदै प्रसादी एकेडेमीलाई सधैँ देशकै सर्वोत्कृष्ट शैक्षिक नतिजा दिलाउन राईको मुख्य भूमिका रहँदै आएको छ । कलेजमा उत्कृष्ट र प्रविधिमैत्री शैक्षिक वातावरण निर्माण गरी हजारौँ विद्यार्थीहरूको भविष्य उज्ज्वल बनाउन उनले चालेको कदमकै कारण आज प्रसादी देशकै भरोसायोग्य शैक्षिक गन्तव्य बनेको छ। उनको दूरदर्शिता, दृढ संकल्प र शिक्षाप्रतिको अनन्य लगावले नेपाली शैक्षिक जगतमा एउटा छुट्टै र गर्विलो मानक स्थापित गरेको छ।
यसैगरी, शिक्षा क्षेत्रको विकास, व्यवस्थापन र संस्थागत सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याउने अन्य तीन जना प्रतिष्ठित व्यक्तित्वहरूलाई ‘केन्द्रबिन्दु विशिष्ट शिक्षा सम्मान २०८३’ द्वारा सम्मानित गरिएको छ । उक्त विधाबाट सम्मानित हुनेहरूमा काठमाडौं विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. डा.भोला थापा, ललितपुरमा अवस्थित पिनाकल एकेडेमीका प्रिन्सिपल डा. ऋषी तिवारी र राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव जंगबहादुर अर्याल रहेका छन् ।
राष्ट्रिय स्तरको शैक्षिक नीति निर्माणदेखि विश्वविद्यालय र विद्यालय तहको शैक्षिक गुणस्तर सुधार्न उनीहरूले पुर्याएको गुनको स्मरण गर्दै सो सम्मान अर्पण गरिएको हो । कार्यक्रमको मुख्य पाटो, शैक्षिक उत्कृष्टताप्रति आफ्नो अटल प्रतिबद्धताका कारण देशैभरका शिक्षण संस्थाहरूमा आफूलाई अब्बल शैक्षिक संस्थाको रुपमा स्थापित गराउन सफल शैक्षिक संस्थाहरुलाई सम्मान गरिएको छ । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीले शैक्षिक नतिजा र योगदानका आधारमा उत्कृष्ट ठहर्याएका संस्थागततर्फ काठमाडौंको बागबजारमा रहेको केएमसी सेकेण्डरी स्कुल (केएमसी) तथा डिल्लीबजारस्थित ट्रिनिटी इन्टरनेसनल स्कुल सर्वोत्कृष्ट घोषित भएका छन् ।सामुदायिकतर्फ भने त्रिपुरेश्वरस्थित विश्व निकेतन सेकेण्डरी स्कुल सर्वोत्कृष्ट विद्यालयका रूपमा सम्मानित भएको छ ।
कुन शैक्षिक संस्थाले कुन पाए अवार्ड ?
१. सर्वोत्कृष्ट (द बेस्ट) सेकेण्डरी स्कुल अवार्ड – काठमाडौं मोडल सेकेन्डरी स्कुल (बागबजार)
२. सर्वोत्कृष्ट (द बेस्ट) सेकेण्डरी स्कुल अवार्ड – ट्रिनिटी इन्टरनेशनल सेकेन्डरी स्कुल
३. सर्वोत्कृष्ट (द बेस्ट) सेकेण्डरी स्कुल अवार्ड – विश्व निकेतन सेकेण्डरी स्कुल
४. बेस्ट एकेडेमिक इन्भायरोन्मेन्ट अवार्ड – नासा सेकेन्डरी स्कुल
५. बेस्ट एकेडेमिक इन्भायरोन्मेन्ट अवार्ड – लिभरपुल सेकेण्डरी स्कुल
६. कन्सिस्टेन्ट एकेडेमिक पर्फमेन्स अवार्ड – रिलायन्स इन्टरनेशनल एकेडेमी
७. कमिटमेन्ट टु एक्सिलेन्स इन एजुकेसन अवार्ड – सेन्ट लरेन्स सेकेन्डरी स्कुल
८. बेस्ट हिस्टोरिकल अचिभमेन्ट अवार्ड – मेरील्याण्ड सेकेन्डरी स्कुल
९. आउटस्ट्यान्डिङ पर्फमेन्स अवार्ड – अरनिको आवासीय सेकेन्डरी स्कुल
१०. आउटस्ट्यान्डिङ पर्फमेन्स अवार्ड – मदरल्याण्ड सेकेन्डरी स्कुल
११. बेस्ट इनोभेटिभ टिचिङ प्राक्टिसेस अवार्ड – नेपाल मेगा कलेज
१२. प्रेस्टिजियस प्लस टु अवार्ड – नोबेल एकेडेमी सेकेन्डरी स्कुल
१३. बेस्ट लर्निङ सेन्टर अवार्ड – लिटिल एन्जल्स सेकेन्डरी स्कुल
१४. आउटस्ट्यान्डिङ एजुकेसनल प्राक्टिसेस अवार्ड – भीएस निकेतन सेकेन्डरी स्कुल
१५. डाइनामिक एजुकेसन लिडरसिप अवार्ड – नेपाल काष्ठमण्डप
१६. रिजनल प्रेस्टिज अवार्ड – शिक्षादीप बोर्डिङ सेकेन्डरी स्कुल
१७. बेस्ट पर्फमेन्स एक्सिलेन्स अवार्ड – जेभियर एकेडेमी
१८. इमर्जिङ प्लस टु अवार्ड – युनिग्लोब प्रिमियर स्कुल

