
११ महिनामा ४७अर्ब ६१ करोड एफडीआई प्रतिवद्धता



काठमाडौं । नेपालको उद्योग तथा व्यवसाय क्षेत्रमा पछिल्लो ११ महिनामा साढे ४७ अर्ब माथिको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिवद्धता आएको छ । चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ९१४ वटा उद्योग तथा व्यवसायको लागि ४७ अर्ब ६१ करोड ६९ लाख एफडीआई प्रतिवद्धता आएको विभागले जनाएको हो ।
विभागको अनुसार समीक्षा अवधिमा अटोमेटिक प्रणालीमार्फत् ७ अर्ब ७१ करोड ६८ लाख र साधारण प्रक्रियामार्फत् ३९ अर्ब ९० करोड लगानी प्रतिवद्धता आएको छ । उक्त लगानी प्रतिवद्धता क्रमशः ७११ वटा र २०३ वटा उद्योग तथा व्यवसायका लागि आएको हो । समिक्षा अवधिमा सबैभन्दा बढी पर्यटनमा लगानी प्रतिवद्धता आउदा सबैभन्दा कम खनिज जन्य उद्योगमा रहेको छ । ११ महिनामा पर्यटनमा १२ अर्ब ९९ करोड ७४ लाख, सेवामा ४ अर्ब ५९ करोड ९ लाख, उत्पादन मुलक क्षेत्रमा ३ अर्ब ५७ करोड १० लाख, सूचना प्रविधिमा २ अर्ब ३६ करोड ५८ लाख, पूर्वाधारमा १ अर्ब ६५ करोड ४४ लाख, उर्जामा २३ करोड ४२ लाख, कृषि क्षेत्रमा २२ अर्ब ८ करोड ८० लाख र खनिजमा ११ करोड ५० लाख लगानी प्रतिवद्धता आएको हो ।
उक्त लगानी प्रतिवद्धता पर्यटनमा २०२ वटा, सेवामा ६२ वटा, उत्पादनमा ५२ वटा, सूचनाप्रविधिमा ५७७ वटा, पूर्वाधारमा १ वटा, उर्जामा २ वटा, कृषिमा १६ वटा र खनिजमा २ वटा उद्योग तथा व्यवसायका लागि उक्त लगानी प्रतिवद्धता आएको हो । त्यस्तै, नेपालमा लगानी गरेका विदेशी लगानीकर्ताले चालु आर्थिक वर्षको ११ महिनामा १७ अर्ब ८० करोड ३३ लाख रुपैयाँ बराबरको लाभांश स्वदेश फिर्ता लैजान उद्योग विभागबाट स्वीकृति प्राप्त गरेका छन् । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो स्वीकृति ९ अर्ब ६० करोड रुपैयाँ मात्र रहेको थियो । यस आधारमा लाभांश फिर्ता लैजाने रकम उल्लेख्य रूपमा बढेको देखिन्छ ।


